१५ भदौ बुटवल । मूलुकमा महिलाहरुमाथि बढिरहेको हत्या, हिंसा र बलात्कारका घटनाहरु संविधानको साइड इफेक्ट भएको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशब सुर्यबंशीले बताउनु भएको छ । राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीको चौथो जिल्ला अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उहाँले संविधान निर्माण गर्ने क्रममै जनपक्षीय संविधान बनाउने कुरामा दलहरु चुकेकाले त्यसको नकारात्मक असर अहिले आएर देशमा हत्या, हिंसा, कर र महंगी बढेको बताउनु भयो । त्यसैले संविधानलाई सबैको अपन्वत्व र अधिकार प्रत्याभूत हुने गरि समझदारीमा संविधानको पुर्नलेखन गर्नुको विकल्प नरहेको उहाँको धारणा थियो । सरकारले जारी गरेको मूलुकी संहिता जंगबहादुर शासनकालकै आधारभूत कुराहरुलाई समेटेर ल्याएको टिप्पणी समेत गर्नुभयो । सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष एवं महिला इन्चार्ज कमला थापा, राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष चन्दा थापा, संघीय परिषद् सदस्य गीता सारु, संघीय महासभा सदस्य नरजंग गुरुङ, पार्टीका प्रदेश सचिव धनी आले, पार्टीका कार्यबाहक रुपन्देही जिल्ला अध्यक्ष मधु राना, नेपाल महिला संघ रुपन्देहीका सदस्य रिता सेन लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पार्टीका युवा नेता शंकर गाहा, धनी आले र मधु रानालाई सम्मान गरिएको थियो । कार्यक्रम राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीका अध्यक्ष बिमला गुरुङको अध्यक्षता, उपाध्यक्ष ज्योती थापाको स्वागत तथा सचिव केशरी तरामु गाहाको सञ्चालनमा सम्पन्न भएको थियो












