जाहिदा बानू – अर्घाखाँची
नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा सांस्कृतिक विविधता भित्र एकताको मालामा गासिएका नेपालीहरुको देश नेपाल हो । नेपाली समाज भित्र एकापसमा एकता र मैत्रिपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, संस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशल ईत्यादी फरक रहेता पनि हामी नेपाली हौं भन्ने भावना यस समुदायका व्यक्तिहरुको रहेको छ । नेपालमा सदियौं देखि मुस्लिम समुदायको बसोबास रहदै आएको पाईन्छ । जनसख्याको हिसाबले मुस्लिम धर्मावलम्वीहरु अल्पसङ्ख्यक रहेता पनि यहाँ का आपसी सद्भाव र सहिष्णुता रहदै आएको छ । नेपालमा मुस्लिम समुदायका व्यक्तिहरुको बसोबास र उपस्थिति पेशा तथा जीबिकोपार्जनका कारण ७७ वटै जिल्लामा रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालको कूल जनसङ्ख्याको ४.४५ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ ।
तर अन्य समुदाय संग सम्बन्धित धार्मिक, सामाजिक, आर्थिक, शैछ्यिक, राजनीतिक तथा प्रशासनिक छेत्रको विकासमा मुस्लिम समुदाय निकै पछाडि परेको छ । स्रोत साधनको सन्तोषजनक परिवेशको अनुभूति यस समुदायले गर्न सकिरहेको छैन । अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेको पाईन्छ । तूलनात्मक रुपले नेपाली मुस्लिमहरु अशिछ्यित र बेरोजगार छन । सामाजिक समावेशीकरणका लागि सार्वजनिक छेत्रमा छुट्टै आरक्षण कोटाको निर्धारण भएको छैन । धार्मिक तथा सांस्कृतिक महत्व राख्ने स्थलहरुको स्वामित्व स्थापित भएको छैन । मुस्लिम महिला र बालबालिका शिक्षा, स्वास्थ्य र पोषणमा पछाडि परेका छन । मदरसा शिक्षा प्रणालीले समकछ्यता र औपचारिकता पाएको छैन । यस समुदायका मुख्य चाडपर्वहरुमध्ये ईद उल फित्र (ईद), ईदुल अज्हा (बक्रा ईद) तथा मुहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिन सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिती रहेको छ । मुस्लिमहरुको विभिन्न पछ्यहरुको अन्वेषण र अनुसन्धान छैन । यस समुदायको हक, हित एवं अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरणको सीर्जना भएको छैन । प्रगति अर्थतन्त्रका तथ्याङ्कले मात्र नभई यस समुदायको मानिसको जीवनस्तर, सेवा, सुविधा, चेतनाको स्तर र खुशीलाई जाच्दा पनि वास्तवमा यो समुदायको उत्थान विकास हुन सकिरहेको छैन । नेपालमा मुस्लिम नागरिकहरु पिछडिएका अवस्थामा छन । विदेशी इस्लामिक विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका मुस्लिम नागरिकले शैक्षिक उपाधीको मान्यता पाईरहेका छैनन । हज गर्न जाने हाजीहरुका लागी हज हाउस बन्न सकेको छैन ।

यस्ता विविध समस्याहरु नीतिगत रुपमा संसोधन गरी कार्यन्वयन गर्न र गराउन आवश्यक देखिन्छ । विद्धमान कानूनी व्यवस्था र नीति नियमहरुको समीक्षया, अनुगमन, मूल्यांकन गरी समयानुकूल संशोधन, परिमार्जन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न जरुरी देखिन्छ । यी सबैको पछाडी यस समुदायमा मुस्लिम नेतृत्वको अभाव हो या हामीमा राष्ट्र प्रेम नभएर राज्यबाट नै अपहेलित छौं ? आखिर दोष कसको छ ? मुस्लिम समुदायको मानिसको हृदयमा राष्ट्रप्रेम नभएको पनि अवश्य हैन किनकी एक नागरिकको हैसियतले आफ्नो देशको रक्षाका लागि आफूलाई परित्याग गर्नु, वाह्य आक्रमणबाट राष्ट्रलाई बचाउनु र नैतिक सिद्धान्तको रुपमा कानुन र सांस्कृतिको विकास गरेर आफ्नो गौरव बढाउनु नेपाली मुस्लिमहरुको पहिचान रहदै आएको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था शुरु भएको बेला देखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, पञ्चायती व्यवस्थाको पुनर्वहाली र पछिल्लो पटक प्राप्त गणतन्त्रमा नेपालका मुस्लिम जनसमुदायको पूर्ण सक्रियता रहेको छ । मुस्लिम समुदायहरुले आन्दोलनमा आफनो ज्यान समेत गुमाएका छन । समाज परिवर्तनको लागि भएको क्रान्तिको अभ्यासलाई हेरियो भने मुस्लिम समुदायको अहम र विशिष्ट भूमिका रहेको पाईन्छ । यस्तो योगदानको बावजुद पनि राज्यबाट किन यस समुदायले बारम्बार उपेक्षयाको रुपमा लिनुपर्छ ? सामाजिक सङ्किर्णताको लडाई के अब पनि जातिगत रुपमा लड्नुपर्ने हो त ? यसो हो भने अवश्य पनि नेपाली राजनीतिले फड्को मार्न सक्ने छैन ।
राजनीति एक निस्वार्थ समाज सेवा जसलाई माध्यम बनाएर आफ्नो चिन्तनलाई परिस्कृत गर्दै आफ्नो समुदाय र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने उत्तम स्थान हो तर दक्षता, विद्धता, इमान्दारीता र शिक्षाको खडेरी भएका व्यक्ति जब नेता बन्न राजनीतिमा प्रवेश गर्छन तब समुदायको कल्याण भन्दा पनि आफू कसरी चर्चित बन्ने भन्ने चिन्तनमा लागेका हुन्छन । आफ्नो पद तथा शक्तिलाई नीजि शासनको रुपमा लिने मुस्लिम नेताहरुलाई यस समुदायले मुस्लिम नेतृत्व मान्नु एउटा भ्रम हो । नेतृत्वको अभावमा नेताको मूल्य हुदैन । अर्थात जुन व्यक्तीमा नेतृत्वको छ्यमता हुदैन उ नेता बन्ने या भन्ने लायक हुदैन । नेता त्यो हो जसले नेतृत्व गर्छ, सुझाव दिन्छ, पथप्रदर्शन गर्छ, आदर्शको रुपमा काम गर्छ, सरकार र समुदायबीच सामञ्जस्य प्रदान गर्छ । नेताको अर्थ राज गर्नु नभएर जनसमुदायको जीवन सहजीकरण गर्नु हो । जब मानिस असभ्य अवस्थामा थियो र जंगलमा बसोबास गर्थयो तब पनि नेता हुन्थ्यो र आज जब उ सभ्यताको चरम शीखरमा पुगेको दावा गरिरहेको छ तब पनि नेता विभिन्न रुपमा प्रकट भएको पाईन्छ । युगान्तकारी परिवर्तन गर्न चाहने मुस्लिम राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेको छैनन । साथै हामी मुस्लिम समुदाय पनि राज्य र नेतृत्व माथि आस्रित भयौं । समाजको उत्थानको लागि एकजुट हुन सकिरहेका छैनौं ।
एकाग्र भई आवाज उठाउन र दबाब दिन सकिरहेका छैनौं । वर्तमान नेताहरुमाथी नै विश्वास छैन भने दीर्घकालसम्म स्मरण गर्न लायकका नेता कहिले पाउछौं ? हामी कस्ता छौं, हाम्रो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हौं । नेतृत्व बलवान, वुद्धीमान, शिक्षित, इमान्दार, जवाफदेही र पारदर्शी हुनुपर्छ तर मुस्लिम समुदायमा हामीले यस्ता नेता पाएका छौं त ? पाएका छैनौं भने किन पाएनौं यो बहसमा हामी कहिल्यै प्रवेश नै गर्न चाहेनौं । अदूरदर्शी नेताले भींडलाई एकठ्ठा गर्न सक्छ जबकी असल नेतृत्वले आन्दोलन चलाउछ । खै त आन्दोलन ? खै समुदायलाई सन्तुष्टी प्रदान गरेको ? समुदायको समस्याहरु समाधानका लागि माग र दबाब खै ? जुनसुकै पार्टीका मुस्लिम अगुवा किन नहोस पद र शक्तिको दम्भले आफ्नै समाजको कुरा नसुनेका उदाहरणहरु कयौं छन । आफ्नै सामाजिक मुद्दाहरु पूरा गर्न सकिरहेका छैनन । जब कुनै समुदाय भित्र नेता छन भने त्यहाँका नेतृत्व हुनु पनि स्वभाविक हो । यो समुदाय पिछडिएको वर्ग उन्मुख कहिले बन्ने । यस्तो चिन्ताजनक अवस्थामा चिन्ता कसले लिने ? मुस्लिम समुदाय राज्यबाट अपहेलित वा मुस्लिम नेतृत्वको अभाव ?












