फोरमले परिवर्तनका संवाहक युवाहरुलाई सम्मान गर्ने

प्रकाशित मिति:

संघीय समाजवादी फोरम नेपालका नेताहरुले पार्टीले सदैव परिवर्तनका संवाहक युवाहरुलाई सम्मान गर्ने बताएका छन । उनीहरुले अन्य पार्टीहरुले युवालाई प्रयोग गरे पनि ६० प्रतिशत भन्दा बढी युवा सदस्यहरु रहेको फोरममा सदैव युवालाई सम्मान गरिने बताए ।संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरम नेपाल प्रदेश नम्बर ५ को प्रथम प्रदेश भेलामा बोल्ने वक्ताहरुले प्रदेश नम्बर ५ को निर्माण गर्ने जिम्मेवारी युवाहरुको कांधमा आएको बताए ।कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश नम्बर ५ संसदीय दलका नेता सहसराम यादवले उत्पीडित समुदायको आवाज फोरमले सदैव उठाउँदै आएको चर्चा गरे । उनले देशको परिवर्तन र पार्टीलाई यहाँ सम्म ल्याउन युवाहरुको भुमिका रहेको चर्चा गरे । यादवले फोरम सदैव समानुपातिक समावेशी तरिकाले वडा देखि केन्द्र सम्म युवाहरुलाई प्राथमिकतामा रहेको बताए ।फोरम प्रदेश नम्बर ५ का सह–इन्चार्ज नविन सुनुवारले पार्टी सबै हिमाल, पहाड, तराई–मधेशमा बस्ने सम्पूर्ण जातजातिको साझा बन्न सफल भएको बताए ।पार्टीका केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज विष्णुजंग बस्नेतले संविधान संशोधनको लागि एकपटक पुनः आन्दोलन गर्नुपर्ने परिस्थिीति आउन सक्ने भएकोले तयार रहन युवाहरुलाई आह्वान गरे ।प्रदेश नम्बर ५ का अध्यक्ष अशोक यादवले समाजवादी विचारलाई जनता समक्ष लैजानुपर्ने बताए । पार्टीका प्रदेश नम्बर ५ का प्रदेश उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले निर्वाचमा अत्याधिक मत ल्याएर विजयी प्राप्त भए मात्र पार्टीको संगठन मजबुत रहेको कुरा प्रमाणित हुने बताए । प्रदेशसभा सदस्य पुरमती ढेगा मगरले एकढिक्का भएर पार्टीलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिइन ।