कोरियामा काम गर्ने नेपालीका परिवारसंग अन्तरक्रिया

प्रकाशित मिति:

बुटवल/ इपीएस प्रणालीमार्फत कोरियामा रोजगारी गरिहेका नेपाली कामदारका परिवारका सदस्यहरुसंग सरकारी तहबाट पहिलोपटक बुटवलमा अन्तरक्रिया भएको छ । ईपीएस प्रणालीमार्फत कोरिया जाने प्रकृया, कोरियामा काम गर्दाको अवस्था,रेमिट्यान्सको उपयोग, कामदारका मनोवैज्ञानिक समस्या तथा परिवारका सदस्यको अपेक्षाहरुबारे परिवारका सदस्यलाई यथार्थ जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखा नेपाल र कोरियाबाट फर्केका नेपालीहरुको संस्था अंकुर नेपालको आयोजनामा भएको कार्यक्रमको वैदेशिक रोजगार विभागका महानिर्देश डा. भिष्मकुमार भुसालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कोरियाका लागि नेपालका पुर्व श्रम सहचारी अनिल गुरुङ, अंकर नेपालका अध्यक्ष लालप्रसाद भट्टराई,लुम्बिनी वौद्ध विश्व विद्यालयका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोताहरुले सरकारको श्रम तथा रोजगार सम्बन्धी नयां नीति,प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयमा जानकारी गराएका थिए । उनीहरुले कोरिया नेपालीहरुको लागि लागत र तलबका दृष्टिले आकर्षक गन्तव्य मुलुक भएपनि सकभर स्वदेशमै रोजगार गर्नु राम्रो भएको सुझाव दिए । नेपालमा पनि लगानीको वातावरण बनेको र सरकारले पनि युवा उद्यमीहरुलाई विभिन्न सहुलियत कर्जा दिएकाले स्वदेशमै बसेर पनि उद्यमशील बन्न सकिने सुझाव दिइएको थियो । रेमिट्यान्सबाट आउने पैसाले कुनै पनि परिवार र देश दीगोरुपमा समृद्ध हुन नसक्ने कार्यपत्र प्रस्तोताहरुले स्पष्ट पारेका थिए । विदेशमा रहेका कामदारसंग परिवारका सदस्यहरुले अनावश्यक माग र दवाव दिन नहुने र एकजनाको मात्रै कमाईमा भर पर्न नहुनेअन्यथा उनीहरुमा डिप्रेसन जस्ता समस्या आउन सक्ने भएकाले हौसला दिनुपर्ने सुझाव दिइएको थियो । निकै कडा मेहनत गरेर विदेशबाट पठाइएको रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा मात्रै खर्च गर्दा भविष्य अन्धकार हुन सक्ने भएकाले फजूल खर्च नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव पनि परिवारका सदस्यहरुलाई दिइएको थियो । कार्यक्रममा रुपन्देही र आसपासका करिब दुई सय जनाको सहभागिता रहेको अंकुरका हिरामणि भट्टराईले बताए । हाल कोरियामा करिब ४० हजार नेपाली रहेका भिागका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।