दलित आन्दोलनको उपलब्धि रक्षा गर्नुस् : मन्त्री बराल

प्रकाशित मिति:

बुटवल/प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालमा दलित समुदाय ऐतिहासिक सर्वहारा वर्ग भएको भन्दै प्राप्त उपलब्धिको रक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । रुपन्देहीको तिलोत्तमामा आईतबार भएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ३७ औं बार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री बरालले दलित अधिकारका निम्ति क्रियाशिल संघसंस्थाले संघर्षसँगै प्राप्त भएको उपलब्धिको रक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दलित समुदायाथि भएको विभेद साँस्कृतिक रुपान्तरणसँग जोडिएकाले संघर्ष अझै जारी राख्नुपर्ने बताउनुभयो ।

समाजमा समानता कायम गर्नका लागि साँस्कृतिक लडाई र संघर्ष जारी रहेपनि पहिलेको तुलनामा उपलब्धि पनि प्राप्त भएको बताउनुभयो । मन्त्री बरालले दलित समुदायको मुद्धामा गैरदलित समुदायलाई पनि सँगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश नम्बर ५ सरकारले प्रदेशलाई छुवाछुतमुक्त प्रदेश बनाउने योजना बनाएको जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकार दलित समुदायको उत्थानका निम्ति कार्यक्रमका हिसाबले पनि सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद बिमला नेपालीले जातीय छुवाछुत अन्त्य हुन नसकेको भन्दै सरकारले अझै पनि दलितको समस्यालाई प्रमुख नठानेको बताउनुभो ।कार्यक्रममा पूर्व सांसद विजुल विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द विक, दलित मुक्ति मोर्चाका केन्द्रीय सहसंयोजक हरिओम विश्वकर्मा, नेपाली काँग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे, नेकपा तिलोत्तमाका नेता लक्ष्मण खनाल, संघीय समाजवादी पार्टीका रुपन्देही अध्यक्ष पदम विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष थर्क बहादुर बाह्रघरे, संघका उपाध्यक्ष मनिराम देवल, महासचिव गोर्वद्धन कोली लगायतले बोल्दै जातीय भेदभाव अन्त्य नहुनुमा सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।यसैगरि संघले प्रदेश ४ र प्रदेश ५ का दलित तथा नागरिक समाजका अगुवाहरुसँग यूरोपियन यूनियनमा सुझाव पठाउन कार्यशाला समेत गरेको छ । २०२० को नोभेम्बरमा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा नेपालका तर्फबाट दलित समुदायको सुझाव नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले पेश गर्न कार्यशाला गरिएको कार्यकारी निर्देशक समिर घिमिरले जानकारी दिनुभयो ।