कौरव खत्री/गुल्मी- गुल्मीको मुसिकोट नगरपालिकामा पुन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प पछिको पुनः निर्माण अन्तर्गत कूल ७ सय ५४ लाभग्राहीमध्ये झण्डै ९० प्रतिशतले घर निर्माण गरिसकेका छन् ।नगरपालिकाका ९ वटा वडामध्ये अहिलेसम्म ३ सय ७९ जनाले आवास निर्माण अन्तर्गत तेस्रो किस्ताको रकम बुझेका छन् । भने ६ सय ९३ जनाले पहिलो किस्ता बापतको रकम र ४ सय ८२ जनाले दोस्रो किस्ता वापतको रकम बुझेका छन् । त्यस्तै २१ घरधुरी तेस्रो किस्ताको रकम भुक्तानीको चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत नवराज भण्डारीले जानकारी दिए ।
प्राविधिक नआउँदै पहिला नै बनिसकेका घरहरुलाई पनि प्राविधिक आएपछि भुक्तानी गरिएको र अन्य केही घरहरु पनि प्राविधिकको सर्वोक्षण पछि मात्रै भुक्तानी गरिने उनले जानकारी दिए। आवास पुननिर्माण अन्तर्गत दोस्रो पटक पनि २० जना लाभग्राही थपिएको र उनीहरुको यही माघ देखि पुन निर्माणको काम सुरु हुने र चालु आर्थिक वर्षको अन्त्य सम्म पुननिर्माणको काम सकाउने लक्ष्य रहेको उनले बताए
नगरपालिकाको वडा नं ९ अर्लाङकोटमा सबैभन्दा बढी १ सय ८८ जना लाभग्राही रहेका थिए भने सबैभन्दा थोरै वडा नं ४ वडागाउँमा २२ जना रहेका थिए । अहिलेसम्म वडा नं ७ वामीमा सबैभन्दा धेरै नीजि आवास पुननिर्माण गरी ५४ जनाले तेस्रो किस्ता बापतको रकम बुझेका छन् भने सबैभन्दा थोरै वडा नं ४ वडागाउँमा १४ जनाले तेस्रो किस्ता बापतको रकम बुझेको नगरपालिकाका सब ईन्जिनियर अमन चौधरीले जानकारी दिए । नगरपालिकाका जम्मा लाभग्राही मध्ये १७ जनाले घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेका छन् ।












