बुटवल – एकपटक एउटा घटना घट्यो । अँध्यारो थियो । एक जना व्यक्ति पहाडको बाटो हिडिरहेको थियो । त्यत्तिकैमा उसको खुट्टा चिप्लियो र ऊ लड्यो । अँध्यारोले केही देखिइरहेको थिएन । उसले एउटा झाडी भेट्यो र त्यसलाई जोडसँग समात्यो । तल अँध्यारो र ठुलो खाल्टो थियो । हात छुट्ने बित्तिकै ऊ मथ्र्यो । त्यसैले झाडीलाई बलियोसँग समातिरह्यो ।
जाडोको रात । त्यसमाथि पुरै अँध्यारो । तल भयङ्कर भीर । खस्यो भने पुरै हड्डी भाँच्चिनेछ । जीवन समाप्त हुनेछ । अस्तित्व मेटिनेछ । त्यसैले उसले समातिरह्यो ।तर कतिबेरसम्म समातिरहने ? हात दुख्न थाल्यो । चिसोका कारण जड हुन थाल्यो । बिहान हुन कठिन छ भन्ने उसलाई लाग्यो । उसका लागि मर्ने पक्काजस्तै भयो । तैपनि यदि मर्नु नै छ भने एकपटक कोसिस त गरुँ भन्ने उसले सोच्यो ।
उसले सोच्यो–‘ कसैगरी बिहानसम्म बिताउन पाए सायद कोही यस बाटोबाट आउन सक्छ । बिहान भएपछि कमसेकम मलाइ पनि म कस्तो अवस्थामा छु ? कहाँ छु ? र कसरी अल्झिएको छु भनेर थाहा हुनेछ ।
यस अँध्यारोमा त मैले केही पनि देखिइरहेको छैन । उसले धेरैबेरसम्म गुहार, माग्यो, करायो, चिच्यायो तर कसले सुन्ने ? उसको आवाज पहाडमा ठोक्किन्थ्यो र फर्किन्थ्यो । त्यहाँ कोही पनि थिएन ,जसले उसको आवाज सुन्न सकोस् । पहाडमा हामी सबैको आवाज त्यसरी नै फर्किन्छ । सुन्ने व्यक्ति कोही छैन ।
चारैतिर अँध्यारो छ भीरमा अड्किएको छ । समातेको छ मर्न मन छैन । आधा रात हुँदै गर्दा उसका लागि समात्न असम्भव हुन थाल्यो । हात जड बन्यो र चिप्लिन थाल्यो । जति जोडले तागत लगाएको थियो त्यत्ति नै छिटो सकियो । अब ऊ राम, कृष्ण, बुद्ध आदि जसलाई उसले मान्थ्यो उनैको जप गर्न थाल्यो मनमनै ।
थाहा छैन कसलाई कसलाई मान्थ्यो अवश्य पनि कसैलाई मान्थ्यो होला किनभने यस्ता मान्छे कहाँ छन् जसले कसैलाई मान्दैनन् । जसले कसैलाई मान्दैनन् उनीहरुले नै आफूलाई जान्न सक्छन् । त्यसैले कसै न कसैलाई मान्थ्यो होला । उनैको जप गर्न थाल्यो होला मन्त्र तन्त्रको । दुःखमा सबैले यस्तै गर्छन् । अन्तिममा उसको हात छुट्यो । हात छुट्नेबित्तिकै उसले अब मरें भन्ने सम्झ्यो तर ऊ मरेन बरु अचम्ममा प¥यो ।
हात छुट्नेबित्तिकै उसले आफूलाई भुँइमा उभिएको पायो । तल समथल थियो खाल्टो छँदै थिएन । अँध्यारोका कारण खाल्डो देखिएको थियो । अँध्यारोको कारण डर लागेको थियो । डरका कारण भ्रम परको थियो ।












