हल्ला फैलाएर सरकारको बदनाम गराउने काम भयो : गिरी

प्रकाशित मिति:

तिलोत्तमा,२१ असोज । प्रदेश सरकारका बन बातावरण तथा उद्योग मन्त्री लिला गिरीले सरकारका कामलाई नकारात्मक हल्ला फैलाएर बदनाम गराउने काम भैरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
उंहाले नागरिकका अपेक्षा बमोजिम परिणाम नआउंदा निराश हुनु जायज भएपनि सरकारले गरेका राम्रा कामको चर्चा कम भएको टिप्पणी गर्नुभयो । “मिडिया पनि सरकारको बदनाम गर्न हात धोएर लागे जस्तो लाग्छ, मन्त्री गिरीले भन्नुभयो— सरकारले बाटो बनाउन लाग्दा अदालतले ज्यादती गरेर रोक्यो भनेर कसैले टिप्पणी गर्दैनन, सरकारलाई नै बदनाम गर्छन ।”
तिलोत्तमा व्यापार संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले करका बिषयमा पनि अनावश्यक हल्ला फैलाइएको गुनासो गर्नुभयो । उंहाले जनतालाई करको बोझ थोपर्ने पक्षमा सरकार नरहेको भन्दै आवश्यकताका आधारमा पुनरावलोकन गर्न समेत तयार रहेको बताउनुभयो । “कुखुरामा पनि कर लगाइयो भनेर हल्ला फैलाइएको छ, हाट बजारमा पसल राखेर तिरेको बैठकीलाई पनि कर लियो भनेर हल्ला गरियो, उहाले भन्नुभयो ।”
कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । उंहाले विश्वासका आधारमा उपभोक्ताले उपभोग्य सामग्री खरिद गर्ने हुंदा त्यसमा कैफियत नगर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । नगर प्रमुख घिमिरेले नगरपालिकाले समेत बजार अनुगमनको कार्य गरिरहेको भन्दै पैसा कमाउन जे पनि गर्ने परिपाटी अन्त्य हुनुपर्ने औंल्याउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले व्यापार, व्यवसायी र उपभोक्ता मैत्री पर्व सुरक्षा योजना लागु भएको भन्दै ढुक्कसंग पर्व मनाउन आग्रह गर्नुभयो ।
वाणिज्य कार्यालयका प्रमुख देव प्रकाश उपाध्यायले बजारको अवस्था सन्तोषजनक नरहेको गुनासो गर्नुभयो । उंहाले बजारमा व्यक्ती हेरेर मुल्य गर्ने परिपाटी कायम रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको औंल्याउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका कार्यबहाक अध्यक्ष तेज कुमार पाठकले बजारमा व्यवसायीक बिकृती देखा परेको भन्दै मुल्यबृद्धि नियन्त्रणमा व्यवसायीको भुमिका हुने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख युवराज पाण्डेले पर्व सुरक्षाका लागि बिशेष सर्तकता अपनाइएको बताउनुभयो । उंहाले पहिलेको तुलनामा चोरी लुटपाटका घटनामा कमी आएको भन्दै भरपर्दो सुरक्षा प्रत्याभुत गराउन नगरपालिका भित्रका ३ वटै प्रहरी युनिट सकृय रहेको बताउनुभयो ।
त्यस अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष बाबुलाल भुषाल, ढालानन्द चालिसे, कमल कंडेल, तोलाकान्त भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष जे.पी कंडेलको अध्यक्षता र महासचिव बिष्णु बरालको संचालनमा भएको थियोे ।