प्रकाश पाण्डे/ तिलोत्तमा –रजत जयन्ति मनाईरहेको तिलोत्तमा ७ भलवारीस्थित लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलले बिहिबार जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय प्रागंणमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरका उप प्रमुख जागेश्वरी देवी चौधरीले वृद्घ वृद्घाहरू अनुभवको खानी भएकाले जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताईन । साथै उनले जेष्ठ नागरिकहरूको पछिल्लो समय अवहेलना र परिवारबाटै अपहेलित भैरहेको सन्दर्भमा विद्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर समाजमा पुन्य र उदाहरणीय काम गरेको जिकिर गरिन ।

रजत जयन्तीका अवसर पारेर शुन्य पोलिथिन मुक्त विद्यालय घोषणा कार्यक्रम, जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता, विज्ञान प्रर्दशनी एवं खाना महोत्सव लगायतका कार्यक्रम गरेको स्कूलले जेष्ठ नागरिक सम्मान गरेर अर्को एउटा महत्वपूर्ण, आँट र हौसलाको काम गरेको बताईन ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जेष्ठ नागरिकको सधै सम्मान गर्नुपर्ने बताउदै स्कूलका स–साना वाल वालिकाको शिक्षण सिकाईमा समेत यस्ता कुरा समावेश गरिएको दावी गरे । साथै उनले संस्थागत विद्यालयहरू समाजका प्रेरणा बन्न सक्ने हिसाबले विषयगत शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अब्बल बनाउने हिसाबले अगाडी बढेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज बश्यालको सभापतित्व तथा तिलोत्तमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीको प्रमुख अतिथ्यतामा ७५ बर्ष उमेर पुगेका ५१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कार्यक्रमका सबैभन्दा जेष्ठ नागरिक तिलोत्तमाको पश्चिम पहुनी बस्ने १०४ बर्षीय नरहरि पाण्डेलाई समेत विशेष सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट बोल्दै टिकाराम बस्याल र बिद्यालय ब्यबस्थापन समिति सदस्य शेर बहादुर गुरुङले जेष्ठ नागरिकको सम्मानले आफुहरुमा हर्षित तुल्याएको बताए । कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष एवं समाजसेवी हेमनाथ ज्ञवाली, प्रवन्ध निर्देशक माधव प्रसाद पाण्डे, समाजसेवी दल बहादुर जिसी, सह प्राचार्य राजेश केसी, शिक्षकहरू विष्णु प्रसाद पाण्डे, संझना खरेल, तारा उपाध्याय, हिमकला अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन देवेन्द्र घिमिरेले गरेका थिए ।












