गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा शिक्षक मेरो साथी अभियान सुरु भएको छ । गल्याङ नगरपालिका शिक्षा समितिको आह्वानमा नगरपालिकाका प्रधानाध्यापकहरुको बैठकले शिक्षक मेरो साथी अभियान सुरु गरेको हो । बन्दाबन्दी (लकडाउन) का कारण नगरपालिकाका विभिन्न चार ठाउँमा चार तहमा भएको प्रधानाध्यापकहरुको बैठकले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गर्ने निर्णय गरेको शिक्षा समितिका सदस्य राजेन्द्रदेब खनालले जानकारी दिनुभयो । अभियान अन्तर्गत पठनपाठन हुन नसकेको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुसँग निरन्तर सम्पर्कमा रहने, सचेतना जगाउने, नगरपालिकामा पीडितहरु देखिएमा नगरपालिकासँग समन्वय गर्ने, गाराउने लगायतका कार्यहरु हुने उहाँले जानकारी दिनुभयो । यस्तै, स्थानीय उत्पादनमा प्रोत्साहीत गराउने, उत्पादित वस्तु विक्री वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने तथा सबै खाले आवश्यक सहयोगका लागि भूमिका खेल्ने निर्णय पनि बैठकले गरेको छ । दुरसञ्चार कम्पनीले दिएको भ्वाइस प्याक लगायतका सुविधाको उच्चतम प्रयोग गर्दै प्रत्येक अभिभावक र विद्यार्थीसँग दैनिक रुपमा समन्वय गर्ने निर्णय पनि भएको छ । लकडाउनको कारण पाठ्यपुस्तक वितरण गर्न समस्या भएको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमबाट भैरहेका सिकाईका अभ्यासहरुलाई उपयोग गर्न पनि बैठकले आह्वान गरेको छ ।
नगरपालिकाबाट पाठ्यपुस्तकका लागि बजेट निकासा भएपनि समस्या व्यवसायीहरुले पुस्तक खरिद गर्ने अवस्था नभएको भन्दै बैठकले अन्य माध्यमको प्रयोगमा जोड दिइएको खनालले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा पाठ्यपुस्तक, छात्रबृत्ति, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी लागत अनुदान लगायतमा पनि छलफल भएको छ । लकडाउनका कारण गल्याङ नगरपालिकाका चार स्थानमा कार्यसम्पादन मुल्याङ्कन फाराम सम्बन्धि अभिमुखिकरण सहितको बैठक गरिएको सदस्य खनालले स्पष्ट पार्नुभयो । गल्याङ नगरपालिकाको वडा नम्बर एक, दुई र चार का १६ वटा विद्यालयको बैठक शिवालय मावि गुठीमा गरिएको थियो । यस्तै, वडा नम्बर पाँच र छ का १७ वटा विद्यालयको बैठक चितुङमा तथा वडा नम्बर आठ, नौ र १० का १४ वटा विद्यालयको बैठक महेन्द्र दर्शन मावि तिन्दोवाटेमा गरिएको थियो । आइतबार गल्याङ नगरपालिकामा वडा नम्बर तीन सात र ११ का १६ वटा विद्यालयका प्रधानाध्यापकहरुको बैठकले समिक्षा सहित शिक्षकहरुले यस अवस्थामा गर्नुपर्ने कामको बारेमा छलफल गरेको थियो ।
बैठकमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विद्यालयहरु खोल्ने अवस्था नभएपनि निरन्तर विद्यार्थीको सम्पर्कमा रहन आग्रह गर्नुभएको थियो । यस्तै । गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ ।
विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरिरहेका छन् । गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका वडा नम्बर सात पेलाकोटमा रहेको श्री सिर्जना कृषि सहकारी संस्थाले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष धनमाया विक, सचिव हेमकुमारी सिंजाली तथा सहसचिव राधाकुमारी गुरुङले यो रकम नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले प्राप्त सहयोगको उचित ढंगले पीडितहरु सामु पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पेलाकोट क्षेत्रबाट राहत कोशका लागि राम्रो सहयोग भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।यस्तै, अनेरास्ववियू गल्याङ बहुमुखी क्याम्पस कमिटिका तर्फबाट गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषका लागि रु. पाँच हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । अनेरास्ववियू क्याम्पस कमिटिका अध्यक्ष शिब भट्टराई सहित पदाधीकारी तथा कार्यसमितिका सदस्यहरुले नगरप्रमुख भुपराज अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभयो । राहत रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले अनेरास्ववियूले विद्यार्थीको हकहितका लागि मात्रै नभई सहयोगमा पनि उत्तिकै भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । असल विद्यार्थीहरुको संस्थाको रुपमा पहिचान बनाएको अनेरास्ववियूले अहिले महत्वपूर्ण सहयोग गरेको उहाँको भनाई छ ।यसैगरी, गल्याङ नगरपालिका मासु व्यवसायी समितिको तर्फबाट राहत कोशका लागि सात हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । समितिका अध्यक्ष अशोकराज रानाभाट, सचिव आनन्द कुँवर मगरले नगरप्रमुख अधिकारीलाई यो रकम हस्तान्तरण गर्नुभएको हो ।रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले भर्खरै स्थापित संस्थाले पनि महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘व्यवसाय अहिले फस्टाउन सकेको छैन, यस्तो अवस्थामा पनि सम्झेर सहयोग गर्नुभएको छ, यसको धेरै ठूलो महत्व छ ।’नगरप्रमुख अधिकारीले आगामी दिनमा नगरपालिकाले सबै कुरामा सहकार्य गर्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने कार्य भैरहेको जानकारी दिदै कहीं अप्ठ्यारोमा परेका व्यक्ति देखिएमा खबर गर्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वडा अध्यक्षहरुले वडाको समन्वयमा राहत वितरणको काम त भएको छ, तर कहीं ध्यान नपुगेको वा नपाउनुपर्नेले पाएको अवस्था छ भने पनि खबर गरी सहयोग गर्नुहोला ।’ उहाँले जम्मा भएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याउने प्रतिबद्वता पनि दोहो¥याउनुभयो ।












