गल्याङ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा डेढ लाख भन्दा बढि सहयोग गरेका छन् । गल्याङ नगरपालिका वडा नम्बर ११ सहित विभिन्न ठाउँबाट कोरिया पुगेका नेपालीहरुले राहत कोशमा एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।गल्याङ नगरपालिका वडा नम्बर ११ का २६ जना वडा नम्बर सातका चार जना र वडा नम्बर तीनका तीन जनाले सहयोग गरेका छन् । यस्तै, कपिलवस्तु, झापा, संखुवासभा, सोलुखुम्बु र पाँचथरका एक एक जनाले पनि गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि सहयोग गरेका छन् ।
कोरियामा रहेका ३८ जनाले राहत कोषका लागि दुई देखि पाँच हजार रुपैयाँ संकलन गरी एक लाख ५१ हजार सहयोग जुटेको कोरियाबाट नारायण अर्यालले जानकारी दिनुभयो । वडा नम्बर ११ का सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) लाई सम्पर्क गरी आफुहरुले जम्मा गरेको रकम नेपाल पठाएको उहाँले स्पष्ट पार्नुभयो । गल्याङ नगरपालिकामा अप्ठ्यारो अवस्थामा रहेकाहरुलाई सहयोग गर्न आफुहरुले सीमित व्यक्तिहरुलाई मात्रै जानकारी गराएर थोरै रकम सहयोग गरेको अर्यालले बताउनुभयो । कोरियामै रहनुभएका दुर्गा भण्डारीले नेपालमा कोरोना संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्या परेकाहरुलाई सहयोग गर्न यो रकम पठाइएको बताउनुभयो । संकलन भएको रकम वडा सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) मार्फत नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले रोजगारीको सिलसिलामा विदेश रहँदा पनि स्वदेश र आफ्नो क्षेत्रका लागि रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अहिले देशमा कोरोनाको जोखिम बढिरहेको भन्दै लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएको अवस्थामा कोरियामा रहनुभएका नेपालीहरुको सहयोग आउनु निकै प्रशंसनीय रहेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विदेशी भूमिमा रहेर श्रम गर्नुको पिडा धेरै हुने गरेको छ । र यो दुखको समयमा निकै महत्वपूर्ण सहयोग गर्नुभएको छ, म सम्पूर्ण सहयोगदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।उहाँले प्राप्त सहयोगको उचित ढंगले पीडितहरु सामु पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।












