नवलपरासी असार ७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा आईतबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाईनमा बसेका ्बर्दघाट नगरपालिका वडा नम्बर ४ का एक ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित यूवा बम्बईबाट आएका हुन् । उनी संगै बर्दघाट नगरपालिकामा मात्र संक्रमितको संख्या ३ पुगेको छ । यस अघि वडा नम्बर १६ मा १ जना पुरुष र वडा नम्बर १ मा १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज कोरोना पोजेटिभ पुष्टि भएका युवाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । उनी संगै रहेका अर्का एकजमा आरडिटी पोजेटिभ देखिएपछि उनलाई क्वारेन्टाईनमै राखिएको थियो । क्वारेन्टाईनमा रहदानै उनमा सामान्य खोकी लाग्ने र ज्वरो आउने भएपछि बुटवल पठाईएको वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले संक्रमण पुष्टि भएका युवा उपचारका लागि लुम्विनी प्रादेशीक अस्पताल गएकोमा त्यहि नै स्वाव संकलन गरिएको र भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ । आज मात्रै सुनवल नगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको थियो । पश्चिम नवलपरासीमा आज मात्रै २२ जना संक्रमित थपिएसंगै कुल संक्रमित संख्या ७४ पुगेको छ ।












