बुटवल असार १८ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालीका – ६ पर्सामा किसानले बिहिवार सडकमै धान रोपेका छन् । नगरपालीकाले १५ लाख रुपैयां बजेट विनियोजन गरी गत चैतमै उपभोक्ता समिती गठन गरेर सडक निर्माणको काम गर्न भनेपनि काम नभएपछि आफुहरुले हिलाम्य सडकमा धान रोपी विरोध गरेको स्थानिय मनोज जैसवालले बताए । उपभोक्ता समितीका मानिस कहां छन्, पत्तो छैन, उनले भने,पहिले नै सक्नुपर्ने कामलाई लकडाउन र अन्य समस्या देखाई रोकिरहेका छन् ।
अन्य सबैतिर विकास निर्माणका काम भइरहेको र लुम्बिनी सांस्कृतिक मा मात्र काम गर्न नपाउने भनी उपभोक्ता समितीले टारिरहेको अर्का स्थानिय जब्बार खानले बताए । जिम्मेवार निकायले ध्यान नदिंदा बजेट फ्रिज हुने र काम नबन्ने देखिएको छ, उनले भने, स्थानिय सोझो बन्दा विकासका काम अंड्किएका छन् । सडक नबन्दा दिनहुं मानिस साईकल, मोटरसाईकलबाट लडेर दुर्घटना भइरहेको छ । यस विषयमा नगरप्रमुखलाई जानकारी गराएपनि उपभोक्ता समितीलाई जिम्मा दिइएकाले आफुले केही गर्न नसक्ने बताएको खानले बताए ।
झण्डै २ सय मिटर सडकखण्डमा वर्षेझरीले हिलाम्य बनाएको छ । सडकमा नगरप्रमुखले मर्मत गर्ने आश्वासन दिइरहेको अवस्थामा आफुहरुले पर्खिरहेपनि अन्तिम समयमा आएर आफुले गर्न नसक्ने र उपभोक्ता समितीलाई जिम्मा दिएको बताएपछि स्थानिय आक्रोशित भएका हुन् । विरोधमा ५० जना बढी स्थानियले धान रोपेका थिए ।












