बुटवलमा अन्तरष्ट्रिय स्तरको हल्ट प्राइज प्रतियोगिता हुने

प्रकाशित मिति:

सबलपोष्ट – बुटवल । युवापुस्तालाई उद्यमशीलताद्वारा समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्ने हेतुले यस वर्ष बुटवलमा पोखरा विश्व विद्यालय,बुटवल अन्तर्गत क्रिमसन कलेज अफ टेक्नोलोजीले अन्तराष्ट्रिय वार्षिक उद्यमशीलता चुनौती ’हल्ट प्राइज २०२०–२१ आयोजना गर्न लागेको छ । यो प्रतियोगिता विद्यार्थी वर्गका लागि नोबल पुरस्कारको रुपमा समेत चिनिन्छ । जसका विजेताहरुले पुरस्स्कार स्वरुप एक मिलियन अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ । कार्यक्रम सन्चालनका लागि पोखरा विश्वविद्यालय बुटवलका क्याम्पस निर्देशक विजय गौतमको नेतृत्वमा आयोजक समिति समेत गठन भइसकेको छ ।

हल्ट बिजनेस स्कुल, हल्ट प्राइज संस्था र संयुक्त राष्ट्रसंघ सङ आबद्ध भएर खोलिएको हल्ट प्राइजका सिइओ अहमद अस्कर रहेका छन् । एक पुस्ताको नेत्तृत्व परिवर्तनका लागि हल्ट प्राइजले युवा विद्यार्थीमा रहेको जोश,जाँगर,शक्ति र सामथ्र्यलाई उचित तबरले पहिचान गर्दै विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरुलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न सुनौलो अवसर प्रदान गरेको बताइन्छ । उद्यमशीलताद्वारा समाजमा सकारात्मक परिवर्तन गर्न चाहने विद्यार्थीहरुका लागि पनि हल्ट प्राइज एक विशेष माध्यम बनेको आयोजकको दावी छ । हरेक वर्ष विश्वव्यापी रुपमा सन्चालन हुने यस प्रतियोगिताका लागि चुनौतीका रुपमा एउटा विषय तय हुने गरेको छ । अहिलेसम्म अमेरिकाका ४२ औ राष्ट्रपति बिल क्लिन्टनद्वारा समृद्ध समाज निर्माणका लागि अति आवश्यक मानिने विषयहरु जस्तै पानी,शिक्षा,बिजुली लगायत अन्य विधाका विषयहरु छनोट भएका छन् । हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यमा केन्द्रित रहेर सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिदै विषय घोषणा गर्ने गरेको छ ।

प्रतिस्पर्धीहरुले उक्त विषयभित्रै रहेर आफ्ना व्यापारिक र प्रेरणात्मक योजनाहरु प्रस्तुत गर्नुपर्दछ ।
यस वर्ष हल्ट प्राइजले खानालाई बाँच्नको लागि आवश्यकता मात्र नभई सामाजिक विकास र परिवर्तनको आधारको रुपमा रुपान्तरण गर्ने चुनौती दिएको छ । खानाबाट बन्चितलाई खाना दिने,रोजगारीको सृजना गर्दै अर्थ व्यवस्थालाई मजबुत बनाउने,खाना आपूर्ति सम्बन्धित गृहकार्य गरि परिणाममा सुधार गर्दै सन् २०३० सम्ममा करिब १ करोड भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पु¥याउने यसको मुख्य उद्देश्य रहेको छ।सहभागीहरुले पनि यसै विषयमा केन्द्रित रहेर आफ्ना व्यवसायिक र उद्यमशिल विचार तथा योजनाहरु प्रस्तुत गर्नु पर्नेछ ।
यस प्रतियोगितामा ३–४ जना विद्यार्थीहरुको समुहले भाग लिन पाउनेछन् । सबैभन्दा पहिले क्याम्पस र विश्वविद्यालयमा संचालन हुने प्रतियोगिता अर्थात् अन क्याम्पस प्रतियोगिताका विजेताहरुले रिजनलको लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै रिजनल विजेताले एक्सिलेरेटर र एक्सिलेरेटर विजेताले ग्लोबल फाइनलमा प्रतिस्पर्धा गर्न संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालयमा गएर आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्ने मौकाको साथै प्रतिस्पर्धा जितेर आफ्नो व्यवसाय संचालन गर्न एक मिलियन अमेरिकी डलर पुरस्कार समेत प्राप्त गर्ने छन् । प्रतिस्पर्धीका लागि विभिन्न ट्रेनिङ,वर्कशप र सेमिनारहरु संचालन गर्ने र कोरोना महामारीको प्रतिकूल परिस्थितिमा पनि यस कार्यक्रमलाई सफल पार्नका निम्ति निरन्तर रुपमा लागि परिरहेको क्याम्पस निर्देशक विजय गौतमले जानकारी दिए । विश्वव्यापी रुपमा बढ्दै गइरहेको खाद्य संकट र खाद्य बजारमा भित्रिएको विकृतिलाई औल्याउदै साधारण व्यक्तिको जीवनमा आमूल परिवर्तन ल्याउने उद्देश्यप्रतियोगिताको रहेको आयोजकको दावी छ ।