कात्तिक २८ म्याग्दी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको कार्यालयमा नजाने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्। प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्नुपर्ने उनले बताए।
तीन दिनदेखि म्याग्दीमा रहेका प्रचण्डले म्याग्दी उद्योग वाणिज्य महासंघको कार्यक्रममा बोल्दै ठूलाठूला हाकिम राजाकै पालाका रहेको तथ्य प्रस्तुत गरे। कर्मचारीप्रति रुष्ट देखिएका उनले कर्मचारीकै कारण संघीयता धरापमा पर्न सक्ने चिन्तासमेत व्यक्त गरे।
प्रदेश र संघमा जान अस्विकार गर्ने कर्मचारीलाई बर्खास्त गर्नैपर्ने भन्दै उनले तोकिएको स्थानमा नजानेलाई निकाल्नुको विकल्प नभएको औंल्याए। हाकिमलाई नेता जस्तै बनाउनुपर्नेमा नेता नै हाकिम जस्तो बनेको भन्दै चिन्ता प्रकट गरे।
विश्वका अन्य देशको उदाहरण देखाउँदै उनले भने, ‘संसारमा जहाँ पनि परिवर्तनपछि माथिल्लो तहका कर्मचारी र सुरक्षा प्रमुखलाई बिदा गरिन्छ। आफूप्रति लोयल र परिवर्तन बुझ्नेलाई भर्ती गरिन्छ।’
नेपालका हरेक परिवर्तनपछि राजाका समयमा तालिम प्राप्त ‘केही हाकिम’ रहेको उनको भनाइ थियो।
केन्द्रको अधिकार गाउँमा पुर्याउने संघीयताको मर्म कर्मचारीले बुझ्न नसकेको उनले आरोपसमेत लगाए। संघीयता कार्यान्वयनका क्रममा समस्या देखिएको स्विकार्दै भने, ‘मलाई पनि कताकता डर लागेको छ। फेसबुक हेर्ने हो भने त लाजमर्दो छ।’
संघीयता नबुझ्नेहरुका हातमा कहिलेकाहीँ डाडुपन्यू पुग्ने गरेकाले समस्या उत्पन्न हुने उनको भनाइ थियो। संघ, प्रदेश र स्थानीय तहबीच करको क्षेत्राधिकारमा केही समस्या देखिएको उनले स्विकारे।
प्रचण्डले सरकार,उद्योगी र व्यवसायीको सहकार्य हुनुपर्नेमा जोड दिए। सार्वजनिक खरिद ऐनलाई संसोधन नगरे समृद्धिको सपना पूरा नहुने उनले ठोकुवा गरे। उनले भने, ‘खरिद ऐन संशोधन नगरेसम्म विकास हुनै सक्दैन। ऐन बदल्नुपर्नेछ।’ ऐन परिवर्तनको क्रममा सरकार रहेको बताउँदै उनले व्यवसायीलाई राज्यले मित्र नदेखेसम्म समृद्धिको सपना पूरा नहुने बताए।












