अर्थमन्त्री पौडेल र नेपालका लागि कोरियाका राजदूत योङसिकबीच शिष्टाचार भेटघाट

प्रकाशित मिति:

काठमाडौं, मंसीर २५- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भयो । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भयो । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोईका मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढदै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘ईपीएस’ ईम्लाएमेन्ट प्रमिट सिस्टम मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताउनुभयो । उहाँले कोभिड-१९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभयो ।अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगको लागि आग्रह गर्नुभयो ।

उहाँले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताउनुभयो ।राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग बिस्तार गर्ने जानकारी गराउनु भयो ।उहाँले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताउनुभयो । साथै ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशिलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी गराउनुभयो । राजदूत योङसिकले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताउनु भएको थियो ।

थप समाचार