काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुष्ट बनेको छ।मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल सरकारसँग रुष्ट बनेको हो। प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्।
तर, अध्यादेश ल्याएपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल कांग्रेस बैठकमा सहभागी नहुने भएको छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अध्यादेश ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएकाले सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने बताए। ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु लोकतान्त्रिक पद्दति विपरीत हो। त्यसैले संवैधानिक परिषद्को बैठकमा सभापतिज्यू सहभागी हुनुहुन्न,’ लेखकले भने। यसअघि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठकमा भने सभापति देउवा सहभागी भएका थिए। तर, सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित भएको थियो।
सभामुख सापकोटा बैठकमा उपस्थित नभएपछि मंगलबारै बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो अध्यादेश जारी गरेकी छिन्।












