शान्तिको हाजिरी जवाफको उपाधि कान्तिलाई

प्रकाशित मिति:

तिलोत्तमा , माघ २९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका ३५ विद्यालय सहभागी भएकोमा कान्ति माध्यमिक विद्यालय प्रथम भएको छ । कान्तिले नगद रु.७ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई न्यू होराईजन बोर्डिङ स्कुलले नगद रु.५ हजार, तृतीय भई देवदह मदर टङ्गले नगद रु ३ हजार र प्रोत्साहन स्थान प्राप्त कालिका मानव ज्ञानले नगद रु. १ हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीको बौद्धिक क्षमता अभिबृद्धिका लागि हाजिरीजवाफ प्रतियोगिता महत्वपूर्ण सावित भएको भन्दै यस प्रकारका रचनात्मक क्रियाकलापहरुलाई नगरपालिकाले सधै प्रोत्साहन गर्ने बताउनुभयो । विद्यालयका प्राचार्य कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम मार्फत सामुदायिक विद्यालयको गरिमा माथि उठाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रम संयोजक मोहन पौड्यालको स्वागतमा उद्घाटन कार्यक्रम भएको थियो भने शिक्षकहरु राजेन्द्र के.सी. र दिनेश खड्काले हाजिरीजवाफको सञ्चालन गर्नुभएको थियो । विजेताहरुलाई विद्यालयका अध्यक्ष शरद भट्टराई, सल्लाहकार टेक बहादुर थापा, प्रधानाध्यापक कुल प्रसाद लामिछाने लगायतले पुरस्कृत गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।  यसैगरी विद्यार्थीहरुको सीप र क्षमतालाई बढाबा दिनका लागि खाना महोत्सव र हस्तकला प्रदर्शनी कार्यक्रम गरिएको छ । विभिन्न परिकारका २१ वटा स्टल सहभागि भएकोमा गाँजरको हलुवा , सेलरोटी , अचार, बटुक, स्वाइविनको छोइला, बटुक, पकौडा, मःमः आदि परिकारहरु राखिएको थियो । सो महोत्सवलाई प्रतिस्पर्धात्मक र परिष्कृत बनाउन प्रतियोगिता समेत राखिएकोमा कक्षा ८ जिको समूह प्रथम, कक्षा ८ ईको समूह द्वितीय, कक्षा ८ एको समूह तृतीय र कक्षा ८ सीको समूह तृतीय भएको महोत्सवका संयोजक शुसिला पाण्डेले जानकारी दिनुभयो । यसैगरी हस्तकला प्रदर्शन तथा प्रतियोगिता राखिएकोमा कक्षा ८ इको समूह प्रथम, कक्षा ७ इको समूह द्वितीय र कक्षा ६ डीको समूह तृतीय भएका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तरगत माघ ३० गते दृष्टिविहीन विद्यार्थीहरुको क्रिकेट तथा अन्य खेलकुदका फाईनल खेलहरु, फागुन २ गते रक्तदान कार्यक्रम, पढाइ महोत्सव, विज्ञान सामाग्रीको प्रर्दशनी , फागुन ३ गते पुरस्कार वितरण र फागुन ४ गते वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह हुने विद्यालयले जनाएको छ ।