चांदनी युवा क्लव द्वारा निशुल्क आंखा शिविर संचालन

प्रकाशित मिति:

३० माघ,कञ्चन-  चांदनी युवा क्लव,कञ्चन १ दानापुरको आयोजनामा शुक्रवार दानापुरमा निशुल्क आंखा परिक्षण शिविर सम्पन्न भएको छ। सोनाम ल्होसारको अवसर पारेर बुटवल लायन्स क्लव,वुटवल लायन्स आंखा अस्पतालकको प्राबिधिक सहयोगमा निशुल्क आंखा परिक्षण गरिएको कलवका सचिव ज्ञानु थापाले जानकारी दिएका छन।

ग्रामिण क्षेत्रमा रहेका बिपन्न,असाहय, तथा कमजोर आर्थिक अवस्थाका कारण बुटवल तथा भैरहवा आखा उपचार तथा परिक्षण गराउन जान नसकेका आंखाका विरामीहरुलाई गाउघरमै उपचार सेवा गराउने उद्धेश्यका साथ संचालन गरिएको शिविरमा २ सय बढी सेवाग्राहीहरुले आफ्नो आंखा जांच गराएका थिए । शिविरमा आंखा परिक्षण गराएका मध्ये ११ जनामा जटिल समस्या देखिएको र निजहरुको शल्यक्रिया मार्फत आंखा उपचार गर्न क्लवले निशुल्क रुपमै थप उपचारका लागि बुटवल लायन्स आंखा अस्पतालमा रिफर गरिएको क्लवका सचिव ज्ञानु थापाले बताएका छन।

खेलकुदको क्षेत्रमा आफ्नो सक्रियता देखाउदै आएको चांदनी युवा क्लवले सोनाम ल्होसारको अवसरमा पहिलो पटक ग्रामिण क्षेत्रमा दक्ष तथा अनुभवी चिकित्सक सहितको निशुल्क आंखा शिविर संचालन गरेको र आफ्नै गाउघरमै आंखा परिक्षण गराउन पाएकोमा आफुलाई खुशी लागेको आंखा परिक्षण गराउन आएका स्थानिय प्रेम बहादुर पुलामीले अनुभव बताए ।