म्यानमारको सैन्य सरकारले नेत्री आङ साङ सु चीमाथि झण्डै सात अर्ब रुपैयाँ र सुन लिएको आरोप लगाएको छ। म्यानमारको सेनाले माघ १९ गते जननिर्वाचित सरकार अपदस्त गरी सत्ता हातमा लिएको थियो। सेनाले नेत्री सु चीसहित राष्ट्रपति तथा मन्त्रीहरुलाई नियन्त्रणमा लिएको थियो। सु चीले गैरकानूनी रुपमा ६ लाख अमेरिकी डलर अर्थात ६ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ र सुन लिएको सेनाले आरोप लगाएको छ। तर, यसबारे कुनै प्रमाण पेश गरेको छैन। सेनाले नेत्री सु चीमाथि विभिन्न आरोप लगाउँदै आएको छ। यो पछिल्लो आरोप सबै भन्दा कडा रहेको छ। प्रजातन्त्र पुनःबहालीका लागि म्यानमारमा प्रदर्शन भइरहेको छ। जनता सडकमा उत्रिएका छन्। शान्तिपूर्ण प्रदर्शनमाथि बिहीबार पनि सुरक्षाकर्मीले गोली चलाएका छन्। सुरक्षाकर्मीको गोली लागेर ६ जनाको मृत्यु भएको छ। योसँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ६० पुगेको एमनेस्टी इन्टरनेसलले जनाएको छ।












