काठमाडौं, चैत ११ : कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै मास्क अनिवार्य गरिएको छ। काठमाडौंमा मास्क नगाउनेलाई कारबाही हुने भएको छ। बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापनको बैठकले काठमाडौंमा कोरोना नियन्त्रण गर्न ६ वटा निर्णय गरेको छ। काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले मास्क अनिवार्य गरेको हो।
काठमाडौंका सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क अनिवार्य गरिएको छ। आज गरिएको निर्णयमा भनिएको छ, मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गने व्यक्तिहरुलाई मास्क लगाउन सम्झाइ बुझाइ गर्ने र अटेर गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने। त्यस्तै, काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्न स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। कोरोना संक्रमण बढ्न थालेकाले मास्क अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी पराजुली बताए। यसको अनिवार्य पालना गराउन स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सबै निकायलाई निर्देशन दिइएको छ।
यससँगै अनिवार्य मास्क लगाउने, दूरी कायम गर्ने, हात धुनेलगायतका विषयमा जनचेतना फैलाउने कार्य गर्न पनि सरकारी निकायलाई आग्रह गरिएको छ।यस्तै, विद्यालयमा पनि सतर्कता अपनाउन आग्रह गरिउको छ। विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न बैठकले निर्णय गरेको छ। यसका लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। जसको असर नेपालमा पनि पर्न थालेको छ।
केही दिनयता काठमाडौंलगायत सीमा क्षेत्रका शहरहरुमा संक्रमण देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। यससँगै काठमाडौंमा पनि तयारी थाल्ने निर्णइ भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्थाका सम्बन्धमा सबै स्थानीय तहमार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।










