काठमाडौं, चैत १२ : बैतडीको दोगडाकेदार गाउँपालिका-७ चुडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोप लागेपछि थुनामा रहेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मेल खाएको छ।डिएनए केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा परीक्षण गरिएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमकै क्रममा डिएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो र अहिले परीक्षणपछि दिनेशसँग मेल खाएको हो। स्वाबबाट प्राप्त नमुना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए। भागरथी हत्या प्रकरणमा संलग्न रहेको देखिएको भन्दै फागुन ४ गते दिनेशलाई पक्राउ गरिएको थियो। उनलाई अदालतले आदेशबमोजिम दिपायलस्थित सुधार गृहमा राख्न आदेश दिएको थियो। त्यसबेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकार गरेका थिए।
तर केही दिनअघि मात्र उनले घटना अरूबाटै भएको, आफू प्रत्यक्षदर्शी रहेको, मार्ने धम्की दिएपछि घटना स्वीकार गरेको, आफू निर्दोष रहेको बताएको घटना सार्वजनिक भए पनि प्रहरीले सजायबाट उन्मुक्ति हुने चाहनाले त्यस्तो हर्कत गरेको प्रतिक्रिया दिएको थियो। माघ २२ गते घरबाट विद्यालय गएकी भागरथी घर नफर्किएको र भोलिपलट उनको शव खोचलेक क्षेत्रस्थित लवलेक जंगलमा भेटिएको थियो ।












