काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना कांग्रेसले ३० वर्षअघि नै देखेको स्पष्ट पारे। बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेता केसीले कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेर काम हुन थालेको र अहिले पानी आइसकेको अवस्थामा सरकारले मात्रै जस लिएको भन्दै उनले असन्तुष्टि जनाए।
मेलम्चीको पानी आउनु सबैका लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले ३० वर्षदेखिको काम अहिले मैले गरें भनेर हुंकार गर्नु न्यायोचित नहुने उनको तर्क थियो। नेता केसीले म्यानमारमा भइरहेको नरसंहारलाई अमानवीय र निन्दनीय भन्दै त्यहाँ निर्वाचित सरकारको पुनर्बहाली हुनुपर्ने बताए । त्यस्तै प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको पनि उनले माग गरे।












