काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्दै उनीहरुमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग गरेका हुन् । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापालगायतका पदाधिकारीहरु पदीय दुरुपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ । त्यसैले उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ ।












