पेन्सलभेनिया, २० मे- गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनका क्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीको टिमले पेन्सलभेनियामा बुधबार भव्य जमघट गरेको छ । एनआरएन पेन्सलभेनिया च्याप्टरकी निर्विरोध नवनिर्वाचित उपाध्यक्ष सरिता लामाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पदका प्रबल तथा शक्तिशाली उम्मेदवार बुद्धि सुवेदीले नेपाल र नेपालीसँग जोड्ने सशक्त मञ्च एनआरएनलाई बनाउने प्रतिबद्धता व्यक्त गरे । सुवेदीले नेपालमा दोहोरो नागरिकतालाई सम्बन्धी कानुन बनाउन नेपाल सरकारलाई दबाब दिने काम एनआरएन अमेरिकाले गर्नुपर्नेमा जोड दिए । त्यसका लागि अस्ट्रेलिया, क्यानडा लगायत देशका नेपालीको पनि साथ र समर्थनसहित गैरआवासीय नेपाली नागरिकताको पहल गर्नुपर्ने उनको भनाइ थियो ।
कर्मभूमि अमेरिकामा पनि नेपालीहरु माइनोरिटी भएको हुँदा माइनोरिटीका अधिकारका लागि एनआरएनले लबिङ गर्नुपर्ने विचार अध्यक्षका उम्मेदवार सुवेदीले व्यक्त गरे । कतिपय नेपालीहरु अमेरिका सरकारको फेडरल जबमा समेत रहेको हुँदा उनीहरुको सहयोग लिएर नेपालीको हक हितमा काम गर्न सकिने र त्यो काम आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।अमेरिकामा नेपालीको आफ्नै कम्युनिटी सेन्टर बनाउन जरुरी भएको आवश्यकता सुवेदीले औंल्याए । ‘यस्तो काम गर्न छुट्टै युनिट बनाएर काम गर्न सकियो भने नेपालीलाई प्रेरित गर्न सकिन्छ,’ उनले भने । विद्यार्थीहरुका समस्या सम्बोधन गर्न नेपाली लयरहरुको सहयोगमा हेल्पडेस्क एनआरएनमा बनाउने सोच सुवेदीले सार्वजनिक गरे । ‘यो संस्थालाई सबैले अपनत्व महसुस गर्ने संस्था बनाउनुपर्छ,’ उनले भने । उनले युवा, महिला, विद्यार्थीसहित नयाँ पुस्तालाई समेटेमात्रै एनआरएन दीर्घकालसम्म टिक्न सक्ने विचार उनले व्यक्त गरे ।
कार्यक्रममा महिला उपाध्यक्ष पदको उमेदवार क्रान्ति भण्डारी अर्याल, उपाध्यक्ष पदका उमेदवार सुमन थापा, महासचिव पदका उमेदवार अञ्जन कुमार चौलागाई, वर्तमान बोर्ड सदस्य तथा आइसिसी मेम्बर उमेदवार खिमविक्रम भट्टराई, आरसिसी उमेदवार इस्ट समरबहादुर बुढाथोकी, जनसम्पर्क समिति अमेरिकाका नेता तथा एनआरएनए अमेरिकाका मेम्बरसिप डाइभ कमिटीका चियर टक ज्ञवाली, लगायत पहुना हरुले शुभकामना दिएका थिए ।साथै नेपाली जनसम्पर्क समिति मेरिल्यान्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीले बुद्धि सागर सुवेदीलाई शुभकामना दिदै र उहाँ लगायत उहाँ सगँ हातेमाले गदै हिडेका अरु पदका उमेदवारहरूलाई पनि आफ्नो समर्थन रहेको जानकारी गराउनु भएको थियो । एनआरएन पेन्सलभेनिया च्याप्टर नवनिर्वाचित निर्विरोध सचिव रमेश लामिछानेले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालक भने सामाजिक नेता तथा एनआरएनए अभियन्ता यदु बन्जाडाले गर्नु भएको थियो।












