बिशेष आभार बा आमाप्रति

प्रकाशित मिति:

जेष्ठ १२ मैले मेरी आमाको गर्भ बाट यो धर्तीमा पाइला राखेको दिन
जेष्ठ महिनाको उखरमाउलो गर्मी, बुबाको मन भारी,आमाको प्रसव पीडा , मेरो जन्म दिन म रोएको पल मेरी आमा हाँसेको क्षण
आफूले नखाएर मलाई मिठो खुवाउने मेरी आमा
आफू जागेर मलाई काखमा सुताउने मेरी आमा
आफू नाङ्गो खुट्टा हिँडेर मेरा हर माग पूरा गरिदिने मेरो आदर्श बा
मेरो हेरचाह गर्न स्कुल नगई रात दिन मेरो ख्याल गर्ने आमा सरह काे मेरो दिदी
बाबाकाे दायित्व पूरा गरी मलाई माया दिने मेरो दाइ
साँच्ची म कति भाग्यमानी, कति खुसी र सबैको प्यारी कान्छी छोरी
म सम्झन्छु ,म पढाइ मा पनि अब्बल थिए, साथी कविता बबिता ,सुनिता ,रिता ,गंगा र अमृता सबैको प्रिय म
अझै ताजा छ रमाशंखर सर ले गरेको प्रोत्साहान , बुद्धि सर ले दिएको हौशला, शोभाकर सर ले गरेको मूल्याङ्कन

बा आमा हजुरहरुले भन्नुहुन्थ्यो राम्राे बनेस, अरूको खुसीको कारण बनेस्, कसैको कुभलो नगरेस, परिवारको इज्यत काे ख्याल गरेस
म अहिले पनि हजुरले कोरिदिएको मार्गमा हिँडेको छु अँह मैले बाटो बिराएको छैन् तर माफ गर्नु होस् बाबा आमा मा गन्तव्यमा पुग्न सकेको छैन, जिन्दगीमा ठेस नलाग्ने कहाँ हुँदो रहेछ र मन नदुख्ने कसको रैछ र बाबा??
म बाल्यकाल मै थिए सानो थिए सायद 10/11बर्षको उमेर
परिवारमा आँधी बेरी आयो
पापी दैव निष्ठुरी भगवान बिरानो संसार संगै हुँदाहुँदै पनि बाबालाई चट्ट चुँडेर लाग्यो
बाघले बाख्रा लिए जस्तै, खोलाले किनार कटन गरे जस्तै
कार्तिक 2 लक्ष्मी पूजाको दिन कालो रात बन्यो
मेरो बाबा त्यो दिन देखि कहिल्यै फर्केर आउनु भएन, ए विस्ने भनेर आवाज दिनु भएन

आमा तिमी पनि निष्ठुरी नै बन्यौ र हामीलाई छाडेर बाबालाई भेट्न ७ वर्षको अन्तरालमा हामीलाई टुहुरो बनाएर गयौं

तिमीले केही देख्न पाएनौं आमा, केही सूख भोग गर्न पाएनौं आमा, के देख्यौ र आमा मलाई यो स्वार्थी संसार देखाउन मात्र कष्ट सहेर आयौ
तिमीले भोगेका दुःख सुन्दा सम्झिदा पनि ज्यान सिरिङ्ग हुन्छ आमा

अब तिम्री बिस्ने ठूली भाकी छे आमा, आफूले बुझ्ने समझदार, २वटा छोरीको आमा भाकी छे, आफ्नै पहिचान बनाएकी छे, तर के गर्नु आमा तिमी छैनौं
सवै छ आमा तर पनि केही नभए जस्तो लाग्छ तिम्रो अभाव, सधैँ खटकिरहन्छ आमा , यस्तै छ आमा यहाँको खबर

आमा मलाई कुरेर बस हैं,आफ्नो लक्ष्य पूरा गरेर आउनेछु
तिमी भएको ठाउँमा त्यो सुन्दर छहारी मा अवश्य आउनेछु तिमी संगै यो स्वार्थी संसार छाडेर आमा
यो स्वार्थी संसार छाडेर आमा

विष्णु पाठक खड्का
धापाखेल