लिस्वन । पोर्चुगलस्थित नेपाली नारी समाजद्धारा संकलित रकम कोरोना संक्रमितको उपचारका लागि पठाइएको छ । समाजले चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।
कोरोना पीडितका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिदका लागि सो रकम पठाइएको समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिनुभयो । उहाले संकलित रकमले कोरोनाबाट पीडित अति विपन्न वर्गको उपचारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले पोर्चुगलमा रहेका नेपाली समुदायको साथ र सहयोगमा यतिका रकम पठाउन सकेको उहाँको भनाइ छ । ‘अति विपन्न वर्गको उपचारमा रकम खर्च हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सहयोग रकम मंगलबार सिर्जना बुर्लाकोटीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो । दाताहरुबाट संकलन भएको केही रकम ढिलागरी संकलन भएकोले समाजको खातामा केही रकम मौजात भएको र सो रकम पनि पठाउने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
समाजले यसअघि पनि फाउण्डेनलाई सहयोग गरेको थियो ।













