खोप नलगाई विद्यालय जान्नौं : शिक्षक महासंघ

प्रकाशित मिति:

बुटवल, जेठ १२ । नेपाल शिक्षक महासंघ लुम्बिनीले कोरोना विरुद्धको खोप नलगाएसम्म विद्यालयहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । कतिपय स्थानीय तहहरुले नतिजा तयार पार्न तथा असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने नाममा शिक्षकहरुलाई विद्यालयमा बोलाएकोमा आपत्ति जनाउँदै स्वास्थ्यको सुनिश्चतता नहुँदा सम्म विद्यालय जाने वातावरण नभएको बताएको छ । हजारौ विद्यार्थी तथा अभिभावकको बीचमा जानुपर्ने शिक्षकलाई अहिलेसम्म खोप नदिएर राज्यले उपेक्षा गरेको महासंघले ठहर गरेको छ ।

प्रदेश समितिका अध्यक्ष प्रेमनारायण भण्डारीको अध्यक्षतामा बसेको बैठकले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव बृद्धिको माग समेत गरेको छ । यस्तै सामुदायिक विद्यालयका नीजि स्रोत, संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई कोरोनाको कारण देखाउँदै निस्कासन गर्ने तथा तलव नदिने कार्य बन्द गर्न आग्रह गर्दै निस्कासन गरिएकाहरुलाई तत्काल पुर्नवहाली गर्न माग गरेको छ ।

यसैगरी दरबन्दी मिलानको कार्यलाई तत्काल स्थगित गरी शिक्षकहरुप्रति स्थानीय तहबाट भएका ज्यादती अन्त्य गर्न, शिक्षकहरुको तलब र ग्रेडमा भएको असमानताको अन्त्य गर्न तथा सरकारसँग भएका सम्झौता कार्यान्वनका लागि संघीय शिक्षा ऐन तत्काल लागू गर्न महासंघले माग गरेको छ ।

विभिन्न पेसागत संघ संगठनका पदाधिकारीहरुको समेत सहभागीतामा भएको बैठकलले खोप नलगाएका कारण कोरोनाबाट ज्यान गुमाउने शिक्षक, विद्यालय कर्मचारीका परिवारलाई राज्यले तत्काल क्षतिपूर्ति दिनुपर्ने, पेन्सन प्रयोजनका लागि अवधि नपुगेको भएमा अवधि थप गरी पेन्सन सुविधा दिनुपर्ने र अस्थायी करार शिक्षकको हकमा मृतकका परिवालाई राहत रकम दिनुपर्नेमा जोड दिइएको छ । नेपाल शिक्षक महासंघ लुम्बिनीका महासचिव गणेशप्रसाद रिजालका अनुसार हालसम्म यस प्रदेशमा ४७ जना शिक्षक कर्मचारीहरुको कोरोनाका कारण ज्यान गएको छ ।

वैठककमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्की, नेपाल शिक्षक महासघंका केन्द्रीय सदस्यहरु गंगा तिवारी, मोतिराम शर्मा, देवी भट्टराई, गणेश कार्की, नेपाल शिक्षक संघका लुम्बिनी अध्यक्ष अर्जुन कुमार योगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद पोखरेल, अखिल नेपाल शिक्षक संघका अध्यक्ष बालाराम पोखरेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव प्रेम बहादुर बस्नेत लगायतले पेसागत सुरक्षाका सम्बन्धमा धारणा राख्नुभएको थियो ।