२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमै हुने बताएका छन् । बूधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने भएकाले भ्रममा नपर्नु आग्रह गरेका छन् ।देउवाले भनेका छन्— ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।
म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु जारी विज्ञप्तिमा उल्लेख छ ।आफू महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध भएको प्रण गर्दै सभापति देउवाले अन्य नेता र कार्यकर्ताहरुलई भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो,’ सभापति देउवाले भनेका छन् ।











