
भ्रष्टाचार गरेको भन्दै रेडक्रसका तत्कालीन अध्यक्ष र कोषाध्यक्षको साधारण सदस्यता खारेज
काठमाडौं- नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले तत्कालीन अध्यक्ष सञ्जीव थापा र कोषाध्यक्ष भक्त खवासलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ। नेतृत्वमा रहँदा आर्थिक अनियमितता गरेको भन्दै १० असारमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो।
थापा नेतृत्वमा रहँदा केन्द्रीय गोदामघर खरिद गर्ने क्रममा अनियमितता गरेको, रक्त संचार भवन निमार्णको ठेक्का प्रक्रियामा बोलपत्रको शर्त तथा नियम विपरित ठेक्का स्वीकृत गरेको तथा भूकम्प प्रतिकार्य कार्यक्रमका लागि वैदेशिक सहायता प्राप्त रकममा भूकम्प प्रतिकार्य सञ्चालन समिति गठन गरेर मासिक रुपमा मोटो रकम लिएको नेरेसोले जनाएको छ।उपकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले केन्द्रीय रक्त संचार भवन निमार्णको लागि गरिएको बोलपत्रदेखि अन्तिम स्वीकृतीसम्मको अध्ययन गर्न संरचनात्मक इन्जिनियर र कर्पोरेट लयरबाट प्रतिवेदन लिएको थियो।
दुवैको प्रतिवेदनले बोलपत्रको शर्त तथा नियम विपरित, प्रचलित कानुन विपरित तथा नेरेसोको आर्थिक नियमावली विपरित वोलपत्र स्वीकृत गरी प्रक्रिया मिचेको र खराव मनशाय राखेर स्वीकृत गरेको समितिले ठहर गरेको छ। त्यसैगरी भक्तपुरस्थित खरीद गरिएको केन्द्रीय गोदामघरको जग्गामा समेत अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।यस अगाडी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जग्गा खरिदका सन्दर्भमा लिएको बयानमा विचौलिया राजेश देशेमरुले करिव २ करोड रुपैयाँ आफूले कमाएको स्वीकार गरेका थिए। सो रकम अनियमितता ठहर गरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई संस्थाले ठगी मुद्धा चलाउन सिफारिस गरेको थियो।