तपाईँको मोबाइल विदेशबाट ल्याएको हो? दर्ता नगरी चल्दैन है

प्रकाशित मिति:

काठमाडौँ – सरकारले साउन १ गतेदेखि अवैध रूपमा आयात भएका मोबाइल फोन नचल्ने गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएपछि धेरै मोबाइल प्रयोगकर्ता अन्योलमा परेका छन्। किनभने ती मोबाइल कतिपयले विदेशबाट मगाएका हन् भने कसैलाई उपहारका रूपमा साथीभाइ तथा आफन्तले ल्याइदिएका हुन्।सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएपछि उनीहरूमा अब हाम्रो मोबाइल चल्छ या चल्दैन? चलाउन के गर्नुपर्ला ? प्रक्रिया के हुन्छ रु लगायत प्रश्न आइरहेका छन्।

विदेशबाट उपहारस्वरूप आफन्त तथा साथीभाइले ल्याएको मोबाइल होस् या अन्य कुनै माध्यमबाट सबै मोबाइल दर्ता गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।उनका अनुसार त्यस्ता मोबाइल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भइसके पनि चल्नेछन्। ‘ती मोबाइलहरू हालै बन्द हुँदैनन्। मोबाइल दर्ता भने गर्नुपर्छ’, प्रवक्ता पौडेलले भने, ‘यस्ता मोबाइललाई थप समय दिएर दर्ता गर्न लगाइन्छ।’

उनले साउनभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने बताए। यस्ता मोबाइल हाल पनि दर्ता गर्न मिल्ने प्रवक्ता पौडेलले बताए।‘हाल दूरसञ्चार प्राधिकरणको वेबसाइट लोड बढी भएका कारण राम्रोसँग काम भइरहेको छैन’, उनले भने।यस्ता मोबाइल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर दर्ता गर्न सकिने पनि प्रवक्ता पौडेलले जानकारी दिए। ‘पहिले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा जाने’, उनले भने, ‘त्यसपछि आइएमइआई सेसनमा गएर दर्ता गर्ने हो।’उनले जुनसुकै तरिकाबाट आएको सबै मोबाइल फोन दर्ता गर्नुपर्ने बताए। यस्तै, उनले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आइरहेको गलत सूचनामा विश्वास नगर्न आग्रहसमेत गरे। ‘सामाजिक सञ्जालमा भनिएजस्तो सबै मोबाइल फोन साउन १ गतेबाट बन्द हुँदैनन्’, उनले भने, ‘अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा आइरहेको छ। सही सूचनामा मात्र विश्वास गर्न अनुरोध छ।’व्यवसायिक हिसाबले नियममानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल फोनका हकमा भने ग्राहकहरुले आइएमईआई दर्ता गर्नु नपर्ने उनले बताए।

उनले दर्ता नभएका सबै मोबाइल फोन प्रयोगकर्तालाई समयमै दर्ता गराउन आग्रह गरे। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागू गर्ने घोषणा गरेको हो। यस्तै, सरकारले एमडिएमएस लागू गर्ने भनेदेखि वैध तरिकाले ग्राहकले मोबाइल खरिद गरिरहेको मोबाइल फोन आयात संघका अध्यक्ष दीपक मलहोत्राले जानकारी दिए।‘बजारमा अहिले ग्राहकले भ्याट बिल भएको मोबाइल मात्र खरिद गरिरहेका छन्’, उनले भने, ‘यो सकारात्मक कुरा हो। सरकारको यो कदमले मोबाइल बजारमा सकारात्मक प्रभाव पर्न गएको छ।’उनका अनुसार केही समयदेखि मोबाइल फोन पनि राम्रो बिक्री भइरहेको छ। नेपालमा ४० प्रतिशत मोबाइल फोन अवैध तरिकाले आयात भएका कारणले वैध तरिकाले आयात भएका मोबाइल फोन बजारमा निकै असर परेको उनको भनाइ छ। तर सरकारको यस कदमले वैध तरिकाले आयात भएका मोबाइल फोनले पूर्ण बजार पाउनेमा उनी विश्वस्त छन्।

यस्तै, अब मोबाइल फोन अवैध तरिकाले आयात नहुने पनि उनी बताउँछन्।‘अहिलेसम्म जति अवैध रूपमा मोबाइल फोन आयात भए–भए। अब हुँदैनन्’, उनले भने, ‘किनभने अब ल्याउने योजना भए पनि सरकारको यस कदमबारे उनीहरूलाई पनि थाहा भइसक्यो होला। र, मोबाइल खरिद गर्ने ग्राहकले अवैध तरिकाले मोबाइल खरिद गर्दैनन्। त्यसैले अब नेपालको मोबाइल बजार राम्रो हुन्छ।’ उनका अनुसार नेपालको मोबाइल फोन बजार ४० अर्ब रुपैयाँको छ। ‘अवैध तरिकाले मोबाइल फोन आयात हुने र खरिद–बिक्री हुने कारणले गर्दा बजार २७ अर्बको मात्र थियो। अब बजार ४० अर्बको हुन्छ’, उनले भने।

यस्तै, उनले लकडाउन खुकुलो भएपछि पनि मोबाइलको व्यापार राम्रो भइरहेको उनले बताए। उनी आइएमएस ग्रुपका कार्यकारी अध्यक्षसमेत हुन्।