देउवा नेतृत्वको सरकारमा नजाने जनमोर्चाको निर्णय

प्रकाशित मिति:

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ । तर केपी ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको देउवा नेतृत्वको सरकारलाईसमर्थन भने गर्ने सो पार्टीको निर्णय छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ’, उनले भने ।

सो पार्टीले सर्वोच्च अदालतद्वारा असार २८ गते जारी गरिएको परमादेश सहितको फैसलाबाट केपी ओलीले देशमाथि लादेको प्रतिगमन परास्त भएको पनि ठहर गरेको छ ।