मन्त्री बन्न कसैलाई भेटेको छैन : प्रेम आले

प्रकाशित मिति:

काठमाडौं स् निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्टीकरण दिएका छन्।विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले जतिसुकै ठूलो पद दिए पनि आफूले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने दृढता व्यक्त गरेका हुन्।

मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै उनले भ्रामक समाचारको खेती गर्न बन्द गर्न र गलत अफवाह नफैलाउन चेतावनी दिएका छन् ।आलेले देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भेटेर आफूलगायतका आठ जना सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिने र त्यसका लागि आफूलाई मन्त्री बनाउन पर्ने सर्त राखेको समाचार बाहिरिएको थियो।

यसअघि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका १४ सांसदले ओली पक्षलाई साथ दिएका थिए भने ओली सत्ताबाट बाहिरिएसँगै १० जनाले साथ छोडेको चर्चा चलेको थियो। पूर्वमन्त्री आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचाररत छन्।