देउवालाई सत्तारूढ गठबन्धनको सुझाव– ओलीका गल्ती सच्याएर अघि बढ्नू, नयाँ गल्ती नगर्नू
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन र नयाँ गल्ती नगर्न सुझाव दिएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबामा बसेको बैठकमा गठबन्धनका नेताहरूले सरकार सञ्चालन देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित हुन सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
यादवले भने, “केपी शर्मा ओलीबाट जुन गल्ती भएका छन्, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर सुझाव दिएका छौँ ।” उनले सरकार विस्तारका विषयमा कुराकानी भएको स्वीकार गरेपनि त्यसबारे केही बताउन चाहेनन् । “भोलिबाट सरकार विस्तार सुरु हुन्छ होला,” यादवले भने ।
बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता विजय पौडेल, माओवादी नेता कृष्णबहादुर महरा र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।











