काठमाडौं । भारतको एक मूल्यवान स्टार्टअप कम्पनी पेटीएमले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २/२ बिलियन डलर अर्थात २ खर्ब ६३ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको आइपीओ जारी गर्ने भएको हो ।आईपीओमार्फत कम्पनी विस्तारका लागि आवश्यक रकम संकलन गर्ने योजनाका साथ यस्तो तयारी गरेको जनाइएको छ । भारतको नोयडामा मुख्य कार्यालय रहेको पेटीएममा अलिबाबा ग्रुप, वर्कशायर ह्याथवे, सफ्टबैंक लगायत कम्पनीको लगानी रहेको छ ।
कम्पनीले भारतमा फोनपे तथा गुगल पेसँग प्रतिस्पर्धा गरिरहेको छ । नयाँ लगानी पाँच सय ७७ मिलियन डलर मार्फत आफ्नो पेमेन्ट बजार विस्तार गर्ने तयारी गरिरहेको कम्पनीले थप लगानीको लागि आईपीओ मार्फत रकम संकलन गर्ने योजना बनाएको हो ।यसका साथै कम्पनीले केही अन्य कम्पनी खरिद गर्ने योजना समेत बनाएको बताइएको छ । हालसम्म कुन कम्पनी खरिद गर्ने भन्ने विषयमा कुनै जानकारी बाहिर नआए पनि त्यसका लागि २६९ मिलियन डलर खर्च गर्ने जनाइएको छ ।
सन् २००९ मा स्थापना भएको पेटीएमका हाल ३३ करोड ३० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये ११ करोड ४० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।








