बारामा चर्कियो कांग्रेस सदस्यताको विवाद

प्रकाशित मिति:

बारा — नेपाली कांग्रेसको आसन्न महाधिवेसन लक्षित क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य थप्ने विषयमा संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ ।संस्थापन पक्षले जिल्लाका ३ वटा संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रका ३ सय पुराना क्रियाशील सदस्यलाई नवीकरण नगरेको र १५ सय बढी नयाँ सदस्य बिनानिर्णय थपेको भन्दै संस्थापनईतर पक्षले सानेपास्थित केन्द्रीय कार्यालयमा सातादेखि धर्नामा बसेका छन् । झन्डै ४० जनाले सातादेखि शनिबार साँझसम्म २४ औं घण्टा धर्नामा बसेका हुन् ।

संस्थापन पक्षले नवीरकण नगरिएकामध्ये केहीले गत संघीय, प्रदेश र स्थानीय चुनावमा पार्टी अनुशासनविपरीत कार्य गरेको र विपक्षीलाई सहयोग पुर्‍याएकोले नवीकरणमा समस्या भएको बताएपछि विवाद उत्कर्षमा पुगेको हो । विवाद उत्कर्षमा पुगेपछि पार्टी केन्द्रीय समितिद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले त्रुटि सच्याउने आश्वासन दिएको धर्नामा रहेका पूर्वसांसद रामअयोध्या यादवले बताए ।संस्थापन पक्षले संविधानसभा सदस्य लालबाबु सिंह, तत्कालीन जिविसका पूर्वसभापति राजेन्द्र यादव, निजगढ नगरपालिका प्रमुख सुरेश खनाल, शिक्षक संघका पूर्वअध्यक्ष रामविलास यादव, पार्टीका जिल्ला सदस्य प्रमोद यादवलगायतका ३ सय जनाको सदस्यता नवीकरण नियतवश नगरेको शनिबार धर्ना स्थलबाट नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारले बताए ।

यीबाहेक जिल्लाका पार्टी सचिव मनोज भट्ट, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, पूर्वसांसद रामअयोध्या यादव, नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारलगायत पनि धर्नामा बसेका हुन् ।‘उहाँहरु सबै कांग्रेसप्रति प्रतिबद्ध र बफादार हुनुहुन्छ । तर पनि संस्थापनविरुद्धमा भएकै कारण संस्थापन पक्षले नवीकरण गर्न सिफारिस गर्नुभएन,’ रौनियारले भने, ‘त्यसैले हामी धर्नामा छौं, नवीकरण र थपिएको सदस्यता खारेज नभएसम्म धर्ना छाड्दैनौं ।’संस्थापन पक्षको नेतृत्वले सधैंभरि आफ्नै नेतृत्व जिल्लामा कायम राखी राख्ने उद्देश्यले त्यसो जबर्जस्ती गरेको उनले आरोप लगाए । धर्नामा बसेका संविधानसभा सदस्य लालबाबु सिंहले गैरकांग्रेसलाई नेतृत्वले प्राथमिकता दिएको र पुराना कांग्रेसलाई निरुत्साहित गरेको बताए । ‘काखा पाखाको राजनीति र प्रवृत्तिविरुद्ध धर्नामा छौं,’ उनले भने । तर पार्टी जिल्ला सभापति जयचन्द्र चौरसियाले नवीकरण र नयाँ थप सदस्य विधिपूर्वक भएको बताए ।महाधिवेशन भदौमा भए पनि स्थानीयस्तरमा वडा अधिवेशन आउँदो साउन १२ बाट सुरु हुँदैछ ।