कोरोना खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराउन सरकारको आग्रह

प्रकाशित मिति:

काठमाडौँ– नेपाल सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन उत्पादक वा अन्य मित्रराष्ट्रलाई आह्वान गर्ने निर्णय भयो ।’

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको बैठकले विभिन्न देशका लागि ओली सरकारले सिफारिस गरेका ११ जना राजदूत नियुक्तिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।यसैगरी, भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।