कांग्रेसले पार्टीका बैठक बालुवाटारमा नगर्ने, भोलिको बैठक बूढानीलकण्ठमा

प्रकाशित मिति:

काठमाण्डौ – नेपाली कांग्रेसले पार्टीका बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्ने जानकारी दिनुभएको छ ।

भोलि शुक्रवार बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने नेता खड्काले बताउनुभएको छ ।खड्काले ट्विटरमा लेख्नुभएको छ, ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने, त्यही निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै छ ।’

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीका बैठक सरकारी निवासमा गरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो ।