बीपी प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कारबाही हुन्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’ सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउने उनको भनाइ छ ।
राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कारबाही गर्न छुट्टै अनुगमन इकाई बनाउने पनि जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।












