काठमाडौं–नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई स्वतः करार सेवामा नियुक्त गर्न लागेको भन्दै नेविसंघले विरोध जनाएको छ । नेविसंघ विश्वविद्यालय समितिका सभापति हरि आचार्य र सचिव योगेन्द्र रावलले मंगलबार विज्ञप्ति जारी गर्दै कसैले आन्दोलन गरेकै भरमा स्वत करारमा नियुक्त दिने कुरा स्वीकार्य नहुने बताएका छन्।
विज्ञप्तिमा खुल्ला प्रतिस्पर्धा रोकेर एकै पटक दुई हजार जना प्राध्यापक करारमा राख्नुमा बदनियत देखिएको उल्लेख छ।सचिव रावलले राजनीतिक संरक्षणमा पार्टीको सदस्यता बोकेर विश्वविद्यालयका छिर्ने प्रवृत्ति रोक्न विरोध जनाएको बताए । ‘पार्ट टाइममा भनेर छिर्ने, स्वत करार हुन खोज्ने र त्यस पछि स्वत स्थायी हुने बाटो खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ उनले भने, ‘राजनीतिक दलको संरक्षणमा कार्यकर्ता भर्ति गर्ने हैन क्षमतावान जनशक्ति प्रतिस्पर्धाबाट आउनुपर्छ ।’ २०७४ मंसिर ८ मा एक हजार चार सय २० आंशिक शिक्षकहरू करार सेवामा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय लत्याएर अहिले शिक्षकहरूलाई करार सेवामा नियुक्त गर्न लागेकोमा नेविसंघले विरोध गरेको छ।












