काठमाण्डौ-नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।उहाँले हिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो।मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले दुई मन्त्री पनि नियुक्त गर्नुभएको छ । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राख्नुभएको छ ।६७ वर्षअघि काठमाण्डौको झोछेँ टोलमा जन्मिएकी शाक्य १८ वर्षको उमेरमा एसएलसी परीक्षा पूरा गरेपछि चिनियाँ भाषा सिक्नुभएको थियो । रत्न राज्यलक्ष्मी क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भएकी शाक्यले तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेर जन्म घर छाडेरै भूमिगत राजनीति सुरु गर्नुभएको थियो ।२६ वर्षको उमेरमा मालेकै नेता अमृत बोहोराका साथ भूमिगत रुपमा पार्टीकै आयोजनामा प्रगतिशील विवाह गरेकी शाक्यले देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि २०५६ सालमा काठमाण्डौको ४ नम्बर क्षेत्रबाट निर्वाचित भएर त्यसको पाँच वर्षपछि पहिलो पटक महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभयो ।
त्यसैगरी तीन वर्षपछि उद्योग मन्त्री पनि बन्नु भयो । नेकपा एमालेका केन्द्रीय सदस्य, महिला विभाग प्रमुख, स्थायी समिति सदस्य हुँदै उपाध्यक्षमा निर्वाचित शाक्य पछिल्लो पटक काठमाण्डौ क्षेत्र नम्बर ८ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।











