महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर भएको भनिएको घटनाबारे छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा तुइन चुँडिएर स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए ।सो घटना छानबिन गर्न बनेको सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । समितिले लामो समयसम्म प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुँदै आएको थियो । प्रतिवेदनमा के विषय उल्लेख छ भन्नेबारे तत्काल केही खुलाइएको छैन ।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य थिए ।गत साउन १७ गते गठित समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो ।छानबिन नसकिएको भन्दै मन्त्रालयले ३ पटक म्याद थप गरेको थियो ।
टोलीले दार्चुला पुगेर स्थलगत रूपमा घटनाको अध्ययन गरी फर्किएको थियो । सो क्रममा टोलीले राजनीतिक दल, सरकारी अधिकारी, पत्रकार, स्थानीय, पीडित परिवार, जनप्रतिनिधिसँग छलफल गरेको थियो भने खोजबिनका सिलसिलामा बैतडी, कञ्चनपुर समेत पुगेको जनाइएको छ ।साउन १५ गते धामी बेपत्ता भएका थिए । पीडित पक्ष तथा स्थानीयले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका लगाउँदै आएका छन् ।











