नमूना एकीकृत विकास परिषद को आयोजनामा तीन दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न
नमूना एकीकृत विकास परिषद रुपन्देही (नमूना)को आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको सहजीकरणमा भैरहवामा तीन दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तालिममा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १४, ओमसतिया, सियारी, शुद्धोधन र सम्मरीमाई गाउँपालिकाका स्वयंसेविका, सशस्त्र र जनपद प्रहरी, विपद् व्यवस्थापन समिति कार्यदलका सदस्य, स्थानीय युवा स्वयंसेवक, जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गरी २४ जनाको सहभागिता रहेको नमुना अन्तर्गत नेपाल विपद् पूर्व तयारी परियोजनाका कार्यक्रम अधिकृत अमृता अधिकारीले बताइन् । तालिमको समापन कार्यक्रममा बोल्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उत्तार्न आह्वान गरिन् । नमूना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले तालिममा सैद्धान्तिक र व्यवहारिक रुपमा प्रशिक्षण गराइएको जानकारी दिदैं सहभागिहरुलाई स्थानीय तहमा रहेको खोज तथा उद्धार केन्द्रका सामाग्रीको रेखदेख गर्न पनि आग्रह गरिन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले ६ जना प्रशिक्षक मार्फत तालिम सञ्चालन गरिएको र सहभागिहरुको मुल्यांकन समेत गरिएको बताए । सो अवसरमा सहभागिहरुलाई प्राथमिक उपचार सम्बन्धि सामाग्री समेत वितरण गरिएको थियो ।










