धनगढी, असोज १ : असोज १ गते संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताए ।
सुदूरपश्चिममा भाद्र संक्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङाबिगा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिए,उनका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ ।
परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला ९गोठाला०हरूले पुतनाको शवदहन गरेको कथन छ । द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो । पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।









