काठमाडौं– त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायमा भएको धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीको विरोधमा विथोलिएको छ। वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रुपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरुले विथोलेका हुन्। त्रिविको हातामा धार्मिक कार्यक्रम गर्न नपाइने भन्दै कार्यक्रम हस्तक्षेप गरेको त्रिवि नेविसंघ इकाइ सभापति हरी आचार्यले बताए।
उक्त संकाय प्रमुख प्रा डा रोजिना मास्केले बोल्दै गर्दा विद्यार्थीहरुले व्यानर च्यातेका थिए। कोरियन क्रिश्चियन धर्मगुरुहरुले धार्मिक प्रवचन गर्ने कार्यक्रममा ३ सय बढी सहभागी भएको बताइएको छ। त्रिविको हाताभित्र धर्म रुपान्तरण कार्यक्रम गरेको अभियोगमा संकाय प्रमुख मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउपछि उनलाई किर्तिपुर प्रहरी चौकी लगिएको छ।












