नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गरिसकेका छन् । यसका लागि पछिल्ला केही दिन लगातार बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।यसअघि गत शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुनसक्ने अनुमान गरिएको थियो । तर, सत्ता साझेदार दुई दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच भौतिक मन्त्रालयको विषयमा टुंगो नलागेपछि मन्त्रिमण्डल विस्तार हुन सकेको थिए ।प्रधानमन्त्री देउवाले अब सोमबार नै सबै मन्त्रीहरुको नाम टुंग्याएर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका थिए । तर, आइतबारदेखि सत्ता गठबन्धन दलका नेताहरुबीच नयाँ विषयमा छलफल सुरु भयो– मन्त्रिमण्डलमा प्रधानन्यायाधीशका प्रतिनिधिलाई पनि समावेश गराउने ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको सदस्य नभएको व्यक्तिले पनि ६ महिना मन्त्री हुन पाउँछ । अर्थात् मन्त्री भएको ६ महिनाभित्र उक्त व्यक्तिले संघीय संसदको सदस्यता लिइसकेको हुनुपर्छ ।यही प्रावधानमा टेकेर सत्तारुढ गठबन्धनका नेताहरुबीच प्रधानन्यायधीशका प्रतिनिधिलाई पनि सरकारमा समावेश गराउने विषयमा छलफल सुरु भएपछि मन्त्रिमण्डल विस्तार अब कहिले हुने भन्ने अनिश्चित बनेको छ ।हामीले यस विषयमा नेपाली कांग्रेसका केही नेताहरुसँग सम्पर्क गरेर सोधेका थियौँ । ‘केही दिनअघिसम्म यो विषयमा जे भनिए पनि त्यो हल्ला मात्र होला भन्ने हाम्रो बुझाइ थियो,’ नेपाली कांग्रेसका एक नेताले फरकधारलाई बताए, ‘तर, आज त यो विषयमा गठबन्धनका नेताहरुबीच भएको छलफलमा पनि कुरा भयो रे । यसलाई गम्भीर रुपमा पार्टीले लिन्छ र छलफलमा पनि केही नेताहरुले यसको विरोध गरेको भन्ने सुनिएको छ । तर, आधिकारिक रुपमा यो बाहिर नआएकाले यस विषयमा आधिकारिक टिप्पणी नगर्नु नै उचित हुन्छ ।’ती नेताका अनुसार पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग निकट मानिएका दीपक तिमिल्सिनाको नाम अहिले मन्त्री बन्ने चर्चामा रहेको छ ।
अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नै दुई मन्त्रालय दिनेबारे आज दिउँसो बालुवाटारमा भएको छलफलमा प्रसंग निकालेको ती नेताको दाबी छ ।‘मन्त्रालय भागवण्डाकै विषयमा छलफल चलिरहेको थियो, त्यही समयमा दुई मन्त्रालय र एक राज्यमन्त्री प्रधानन्यायाधीशलाई पनि दिनु पर्छ भन्ने कुरा उठ्यो,’ कांग्रेसका ती नेताले भने, ‘यसले छलफलमा नै नयाँ तरंग सिर्जना गर्यो ।’कांग्रेसका अर्का एक नेताका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसकै भागका दुई मन्त्रालय कटाएर वा घटाएर भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका प्रतिनिधिलाई दुई मन्त्रालय दिन तयार भइसकेका छन् ।‘यसअघि प्रधानमन्त्री बाहेक नै कांग्रेसले ७ मन्त्रालय लिने कुरा भइरहेको थियो, तर अब कांग्रेसले प्रधानमन्त्री बाहेक पाँच मन्त्रालय लिन पनि तयार रहेको कुरा प्रधानमन्त्री देउवाले भनिसक्नु भएको छ,’ ती नेताले भने, ‘कांग्रेसले छोडेका ती दुई मन्त्रालय चाहिँ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई दिने तयारी चलेको छ।’एकातिर प्रधानमन्त्री देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसमा तयार भइसकेका छन् भने अर्कोतिर कांग्रेसकै केही नेताले न्यायालयलाई मन्त्रिमण्डल विस्तारमा भागवण्डा लगाउने विषयमा आपत्ति जनाएका छन् ।#फरकधार











