एमालेका असन्तुष्ट पूर्वमाओवादी नेता विप्लव नेतृत्वको नेकपासँग नजिकिँदै

प्रकाशित मिति:

काठमाडौं- नेकपा (एमाले)मा असन्तुष्ट पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासँग नजिकिन थालेका छन्। एमालेमा सम्माजनक स्थान नपाएको भन्दै स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय कमिटी सदस्य प्रभु साहले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँगको भेटघाट बढाएका हुन्।

गत असोज २३ गते नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई थापा र साहले लाजिम्पाटमा भेटघाट गरेको नेकपाका एक नेताले बताए। भेटमा संसद्बाहिर रहेका कम्युनिस्टहरुको मोर्चाबन्दी गर्ने विषयमासमेत छलफल भएको ती नेताको भनाइ छ।

यद्यपि, कसरी जाने भन्ने विषयलाई भने मूर्तरुप दिइनसकेको उनले बताए। विश्वकर्मालाई भेटेलगतै साहले सामाजिक सञ्जाल फेसबुकमा ुदेशको बदलिँदो परिवेश र समसामयिक राजनीतिक विषयवस्तुप्रति केन्द्रित भइ विशेष छलफल भएकोु सार्वजनिक गरेका थिए। यसले पनि एमालेमा असन्तुष्ट नेताहरु विप्लवसँग नजिकिन छलफललाई तीव्रता दिएको देखाउँछ। साहले यसअघि गत असोज १७ गते एमाले विधान महाधिवेशनमा अनुपस्थित भएका थिए। उनले सम्मेलनमा सहभागी आफूपक्षका २५ जनालाई त्यहाँबाट निस्कन लगाएका थिए। पछि उनीहरुले पनि एमालेको प्रदेश कमिटीमा बस्न अस्वीकार गरेका थिए।