भीम रावलले सकिन भनेर राजीनामा दिनुभो ;ओली

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए ।‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’ उनले भने ।

शुक्रबार रावलले भने अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा गम्भीर नभएकाले सहजीकरण समितिबाट राजीनामा दिएको बताएका थिए । माधव नेपालले पार्टी विभाजन गर्दा उनीसँग नभएका एमाले नेताहरु १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।तर गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको भनी टिप्पणी गरेका थिए । ओलीको उक्त टिप्पणीप्रति नेताहरुले बिहीबार र शुक्रबार भएको स्थायी कमिटी बैठकमा आवाज उठाएका थिए ।

शनिबार पत्रकारको प्रश्नमा ओलीले १० बुँदे कार्यान्वयन गर्न केही ठाउँमा बाँकी रहेको भन्दै त्यो छिट्टै हुने प्रतिक्रिया दिए ।