भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : प्रचण्ड

प्रकाशित मिति:

८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् ।सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा स् रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

नेपाल र भारतबीच सीमासम्बन्धी समस्या रहेको उल्लेख गर्दै प्रचण्डले सीमा समस्यालाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताए । ‘मोदीजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरि ताली बज्यो । यसो हेर्दा यो ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोलि नि हुन्छ,’ उनले भने, ‘तर हामीले ताली लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाब चाहिं अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई ।’अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।

‘यदि नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ,’ उनले अगाडि भने, ‘नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एकअर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको शुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौं ।’

उनले नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले पनि सम्भव भएको उल्लेख गरे । भारतको सकारात्मक धारणा नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहनाले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनले बताए ।