काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व गरिनुपर्ने ‘क्यारिब्रेसन फ्लाइट’ (यान्त्रिक परीक्षण उडान) गर्न ढिलाइ हुने भएको छ । नेपाल नारिक उड्डयन प्राधिकरणले क्यारिब्रेसन फ्लाइटुका लागि कहाँको विमान ल्याउने भन्ने निर्णय नै नगरेकाले ढिलाइ हुने भएको हो ।यसअघि प्राधिकरणबाट अनुमति पाएको भनिएको थाइल्याण्डको एरो थाईका प्राविधिक नोभेम्बर २२ मै नेपाल आएर विमानस्थलमा अध्ययनको काम भने गरिरहेका छन् । तर, प्राधिकरणले यान्त्रिक परीक्षण उडानको मिति र कहाँको विमान ल्याउने भन्ने निर्णय नगर्दा अन्यौल बढेको प्राधिकरण स्रोतले बतायो ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले अहिले ग्राउन्ड इन्जिनियरिङको काम भइरहेको बताए । “तर, क्यालिब्रेसन गर्न जहाजको सन्दर्भमा टुङ्गो लागिसकेको छैन,” उनले भने । एरो थाईसँग यसअघि नै भएको सम्झौताअनुसारको काम गरिरहेपनि विमान पनि एरो थाइले नै ल्याउने भन्ने एकिन भएको छैन ।पछिल्लोपटक बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एरो थाईलाई क्यालिब्रेसन फ्लाइटका लागि अनुमति दिने निर्णय गरेको थियो । प्राधिकरणको यो निर्णयप्रति प्राधिकरणभित्रैका केही पक्षको असन्तुष्टि रहेको बताइएको छ ।किनभने, सुरुमा एरो थाईले नै यो विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्न अनुमति पाएको थियो । तर, कोभिडलाई कारण देखाउँदै यान्त्रिक परीक्षण उडानका लागि नेपाल आउन नसक्ने लिखित रूपमै प्राधिकरणलाई जानकारी गराएको एरो थाईको पत्रपछि प्राधिकरणले भारत, अमेरिका, अस्ट्रेलियालाई क्यालिब्रेसनका लागि पत्राचार गरेको थियो । प्राधिकरणको पत्र पठाए लगत्तै भारतले ‘क्यालिब्रेसन फ्लाइट’ गर्न तयार रहेको जानकारी लिखित रूपमै प्राधिकरणलाई गराएको थियो । तत्कालीन सरकार परिवर्तन हुँदा प्राधिकरण सञ्चालक समितिको बैठक बस्न नसक्दा निर्णय हुन सकेको थिए ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा प्रेमबहादुर आले आएपछि बसेको प्राधिकरण सञ्चालक समितिले कोडिभलाई बहाना बनाएर क्यालिब्रेसनका लागि आउन नसक्ने बताएको यरो थाईलाई पुनः एकपटक सोध्ने निर्णय गर्यो । प्राधिकरणले फेरि सोधेपछि यरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने बतायो ।त्यसबेलासम्म भारतले पनि क्यालिब्रेसन उडान गर्ने जवाफ प्राधिकरणलाई दिइसकेको थियो । अहिले कसलाई क्यालिब्रेसनका लागि विमान ल्याउन दिने भन्ने निर्णय प्राधिकरण गर्न नसक्दा ढिलाइ भइरहेको स्रोतको दाबी छ । प्रवक्ता कर्णले पनि क्यालिब्रेसनका लागि सबै प्रविधि ल्याउने एरो थाई भएपनि जहाज कसले ल्याउने भन्ने निर्णय नभएको बताए ।“ग्राउन्ड इन्जिनियरिङको काम उसैले (एरो थाई) गर्ने हो । यसको इन्जिनियर हुनैपर्यो, तर क्यालिब्रेसन कहिले गर्ने र कहाँको विमानले गर्ने भन्ने तय भइसकेको छैन,” उनले पुष्टि गरे ।
विमानस्थल सञ्चालनमा ल्याउनुपूर्व ‘क्यालिब्रेसन फ्लाइट’ गर्नुपर्ने हुन्छ । विमानस्थलमा विमान उडानरअवतरण एवम् धावनमार्ग, टावरलगायत क्षेत्रमा जडित उपकरणले काम गरे वा नगरेको परीक्षण गर्ने कार्यलाई ‘क्यालिब्रेसन फ्लाइट’ भनिन्छ । यान्त्रिक परीक्षण उडानको प्रतिवेदन पछि परीक्षण उडान गरिन्छ र त्यसपछि मात्रै व्यावसायिक रूपमा विमानस्थल सञ्चालनमा ल्याइन्छ ।











